भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ ।  सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो ।

विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ । कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो ।

खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन् । सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाई लगायतका पीडा हुने उनीहरुको भनाई छ ।

सेरमको खोपले यही जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पुरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ । यो खोप २३ हजार ७४५ जनामा परीक्षण गर्दा प्रभावकारी नजिता दिएको देखिएको सेरमले दावी गरेको छ । परीक्षणमा १८ वर्ष वा सो सरहदेखि त्योभन्दा धेरै उमेरका मानिसहरु सहभागी भएका थिए ।

परीक्षण गर्दा सेरमको खोपले औसतमा ७०.४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो । सामान्य वा नियमित अवस्थामा भने यी खोपहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसको विकास र परीक्षणको काम अझै पनि जारी रहेको छ ।

भारत बायोटेकको खोप भने आइसिएमआर र नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीले संयुक्त रुपमा विकास गरेका हुन् । विश्वभरी नै राम्रो मानिएको प्रणाली मार्फत यसको विकास गरिएको पनि अधिकारीहरुले जनाएका छन्  । सेरम र भारत बायोटेकका खोपहरु दुई डोज लगाउनु पर्नेछ भने यी खोपहरु २ देखि ८ डिग्री सेल्सियसमा भण्डार गर्न सकिने छ । एएनआई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com