अमेरिका : नयाँ वर्ष, नयाँ प्रशासन, नयाँ अध्यागमन?


प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार

नयाँ बर्ष २०२१ सुरु भइसकेको छ । अबको केहीसातामा अर्थात् जनवरी २० मा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दैछन् । नयाँ बर्षसँगै नयाँ बाइडेन प्रशासनले अमेरिकाको अध्यागमनमा नयाँ परिवर्तन ल्याउला ? कैयनको मनमा जिज्ञासा छ ।

बाइडेनले कार्यभार सम्हाले लगत्तै केही कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यभार सम्हाल्ने बित्तिकै बाइडेनले ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजान संसदमा पठाउने भएका छन् । जसमा डाका र टीपीएसले समेटेका समेत रहेका छन् । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनदेखि निश्चित समयभन्दा अगाडि अमेरिका आएका तर अहिलेसम्म ग्रिनकार्ड नपाएकाहरुलाई समेत यो बिलले समेट्नेछ ।

यो बिल पारित हुनका लागि दुबै सदनमा डेमोक्र्याट्सको बहमुत आवश्यक छ । हाउसमा डेमोक्र्याट्सले बहुमत कायम गरिसकेका छन् । तर सिनेटमा बहुमत कायम गर्नका लागि जनवरीको ५ मा जर्जियामा हुने चुनावमा डेमोक्र्याट्सले दुबै सिट जित्नुपर्छ । अन्यथा यो बिल पारित हुन मुस्किल छ ।

बाइडेनले कार्यभार सम्हाल्ने बित्तिकै डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध उल्टाउने घोषणा गरेका छन् । ट्रम्पले १३ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाएका छन् ।

यो प्रतिबन्ध सुरुमा इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनमाथि लगाइएको थियो । पछि यसमा केही थप घट गरियो । अहिले लिबिया, उत्तर कोरिया, सोमालिया, सिरिया, यमन, इरिटेरिया, क्रिगिस्तान, म्यानमार र नाइजेरिया समेत छन् । यो प्रतिबन्धले तान्जानिया र भेनेजुएलाका नागरिकलाई समेत प्रभाव पार्छ ।

त्यस्तै ट्रम्पले एसाइलम र शरणार्थीका सन्दर्भमा लगाएका कैयन प्रतिबन्धहरुलाई पनि बाइडेनले उल्टाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिकामा एसाइलममा कडाई गर्ने कैयन कार्यकारी आदेशहरु जारी गरेका छन् ।

बाइडेनले कामदार भिसा एचवानबीको संख्या बढाउने, देशीय कोटा खारेज गर्ने लगायतका योजनाहरु समेत बनाएका छन् । त्यस्तै महामारीका कारण ट्रम्पले लगाएका कैयन अध्यागमन प्रतिबन्धहरुको पनि बाइडेन प्रशासनले पुनरावलोकन गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्प प्रशासनले लागु गरेको पब्लिक चार्जको नियमलाई बाइडेन प्रशासनले उल्टाउने योजना बनाएको छ । सरकारी सुविधा लिनेहरुलाई अमेरिकाको ग्रिनकार्ड अस्वीकार गर्नसक्ने यो नियम विभिन्न कानुनी लडाई पार गरेर अहिले कार्यान्वयन भइरहेको छ ।

सिमाक्षेत्रमा बालबालिकालाई उनीहरुका आमाबुबाबाट अलग गर्ने नीतिलाई उल्टाउने बाइडेनको योजना रहेको छ । ट्रम्प प्रशासनले ल्याएका कैयन नीतिको परिणामस्वरुप सिमा क्षेत्रबाट विना भिसा अमेरिका आउन खोज्नेका परिवारहरु छिन्नभिन्न भएका छन् ।

सन् २०१७ को जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्नु अगाडि बराक ओबामा प्रशासन अध्यागमनको जुन अवस्थामा थियो, झण्डै त्यही अवस्थामा फर्काउन जो बाइडेनले विभिन्न कदमहरु चाल्ने भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com