२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
अमेरिका

दोश्रो चरणको ६ सय डलरको राहत चेकबारे थाहा पाउनुपर्ने मुख्य १३ कुराहरु

अमेरिकामा ६ सय डलरको राहत चेक मंगलबार राती नै कैयनको बैंक एकाउन्टमा डिपोजिट गर्न सुरु गरिएको ट्रेजरी डिपार्टमेन्ट र आईआरएसले जनाएका छन् । मंगलराती प्राप्त नभएकाहरुले आगामीसातासम्म प्राप्त गर्ने र बुधबारदेखि नै कागजी चेक हुलाकमार्फत पठाउन सुरु गरिएको जनाइएको छ ।

यसबारे थाहा पाउनुपर्ने मुख्य १३ कुराहरु यस्ता छन् । 

१, आईआरएससँग बैंक खाता नभएकाहरुलाई हुलाकमार्फत चेक पठाउन सुरु गरिएको हो । यसै साताको अन्त्यतिर आफूले प्राप्त गर्ने ६ सय डलरको चेकको स्टाटस अनलाइनमार्फत समेत हेर्न सकिने भएको छ ।

२, राहत चेक प्राप्त गर्न कुनै कदम चाल्नु नपर्ने आईआरएसले जनाएको छ । जनवरी ४ मा आधिकारिक रुपमा बैंकमा रकम डिपोजिट हुने र त्यो भन्दा अगाडि कतिपयले आफ्नो खातामा पेन्डिंग वा प्रोभिजनल रुपमा रकम प्राप्त भएको देख्नसक्ने आईआरएसले जनाएको छ ।

३, राहत चेक अटोमेटिक रुपमा नै डिपोजिट हुने भएकाले बैंक वा आईआरएसले रकम आउने मितिका सन्दर्भमा सम्पर्क नगर्न सुझाव दिइएको छ । पहिलो चरणको राहत चेक जस्तै अधिकांशले स्वत दोश्रो चरणको राहत चेक प्राप्त गर्नेछन् । पहिलो चरणको राहत चेक बैंकमा प्राप्त नगरेका र हुलाकमार्फत कागजी चेक प्राप्त गरेकाहरुले सामान्यतया दोश्रो चरणको राहत चेक पनि कागजी रुपमा वा डेबिट कार्डमार्फत नै पाउने जनाइएको छ ।

४, कागजी रुपमा वा डेबिट कार्डमार्फत राहत चेक पठाउने काम पनि जनवरीभित्रमा पूरा गर्ने आईआरएसले जनाएको छ । पहिलो वा दोश्रो राहत चेक नपाएका योग्य व्यक्तिले अबको केहीमहिनामा सन् २०२० को ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न र प्राप्त गर्न सक्नेछन् । यसैबर्ष अमेरिका आएका वा नयाँ बच्चा जन्मिएका वा अन्य कुनै कारणले पूरै रकम नपाएकाहरुले ट्याक्स फाइल गर्दा रकम दावी गर्न सक्नेछन् ।

५, फर्म १०४० वा फर्म १०४० एसआरमा त्यस्तो क्रेडिट दावी गर्ने विकल्प दिइएको हुन्छ । हालै ग्रयाजुएट भएका कैयन व्यक्ति ट्याक्स फाइल गर्दा रकम प्राप्त गर्न योग्य हुने जनाइएको छ ।

६, दोश्रो चरणको राहत चेक रहेकले ६ सय डलर, १७ बर्षभन्दा मुनीका योग् बालबालिकाहरुले ६ सय डलर र दम्पत्तिले १२ सय डलर प्राप्त गर्नेछन् । ७५ हजार भन्दा आम्दानी भएका व्यक्ति वा संयुक्त फाइल गरेका १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले पूरै रकम प्राप्त गर्नेछन् । त्यो भन्दा माथि आम्दानी हुनेहरुका सन्दर्भमा रकम घट्दै जानेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

७, सन् २०१९ को ट्याक्स फाइल गरेकाहरुलाई रकम अटोमेटिक रुपमा प्रदान गरिनेछ । पहिलो राहत चेकका लागि नोभेम्बर २१ भित्र सफलतापूर्वक नन फाइलरका रुपमा अनलाइनमार्फत दर्ता गराएका, साधारण ट्याक्स फाइल गरेर आईआरएसले प्रकृयामा लगेकाहरुले पनि दोश्रो चरणको राहत चेक अटोमेटिक रुपमा पाउनेछन् । उनीहरुले पुन दर्ता गर्नुपर्ने छैन ।

८, आईआरएसले रकम पठाएको नपठाएको अनलाइनमार्फत चेक गर्न सकिनेछ । गेट माइ पेमेन्ट टुलको प्रयोग गरेर रकम पठाएको नपठाएको र कसरी पठाएको भन्ने अपडेट प्राप्त गर्न सकिनेछ । आगामी केही दिनमा उक्त टुल थप अपडेटसहित उपलब्ध हुनेछ ।

९, हालै बैंक एकाउन्ट परिवर्तन गरेकाहरुका सन्दर्भमा आईआरएसले आफ्नो फाइलमा रहेको एकाउन्टमा रकम पठाउन प्रयास गर्नेछ । बैंक एकाउन्ट बन्द भएका कारण रकम नगएको खण्डमा चेकमार्फत हुलाकबाट पठाइनेछ । कुनै पनि माध्यमबाट रकम प्राप्त नगरेकाहरुले ट्याक्स फाइल गर्दा रकम दावी गर्न सक्नेछन् ।

१०, जनवरीको पहिलो सातासम्म पनि बैंकमा रकम नआएकाहरुले हुलाकबाट चेक आए नआएको हेर्न आवश्यक छ । उनीहरुले या त हुलाकबाट चेक पाउनेछन्, या त डेबिट कार्ड पाउनेछन् । तर डेबिटकार्ड केहीले मात्र प्राप्त गर्ने जनाइएको छ । पहिलो चरणको रकम डेबिटकार्डमार्फत पाएकाले अहिले कागजी चेकमार्फत वा पहिलो चरणको रकम चेकमार्फत पाएकाले अहिले कार्डमार्फत पनि पाउन सक्नेछन् ।

११, पहिलो चरणको राहत चेकका लागि एकजनाको मात्र सोसल सेक्युरिटी नम्बर भएका तर संयुक्त रुपमा फाइल गरेका दम्पत्तिहरु सेनाको सदस्य नभएसम्म रकम पाउन अयोग्य भएका थिए । तर दोश्रो चरणको राहत चेकको योग्यता बढाइएको छ ।

१२, यदि कसैले ट्याक्स पनि फाइल गरेको छैन र अनलाइनमार्फत नन फाइलरका रुपमा दर्ता पनि गरेको छैन भने त्यस्तो व्यक्ति पनि राहत चेक पाउन योग्य हुनेछ । उनीहरुले सन् २०२० को ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न र प्राप्त गर्न सक्नेछन् ।

१३, राहत चेक प्राप्त भइसकेपछि प्राप्त हुने पत्र वा आईआरसको सुचनालाई सुरक्षित राख्न र ट्याक्स रेकर्डका रुपमा प्रयोग गर्न सुझाव दिइएको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →