के मैले जनवरी ४ पछि टीपीएसका कागजातको अवधि थप्न कतै आवेदन दिनुपर्छ ?


प्रकाशित मिति : पुस ११, २०७७ शनिबार

पर्दैन ।

नेपाल लगायतका हैटी र मध्य अमेरिकी देशका नागरिकको टीपीएसको कागजातको अवधि स्वत: ९ महिना थपिएको छ । अमेरिकी सरकारले नेपाल लगायत एल साल्भाडोर, हैटी, निकारागुवा, सुडान र होण्डुरसको टीपीएस अवधि ९ महिना थपेको हो ।

 फेडरल रजिष्टरमा प्रकाशित  सुचनाको पूर्ण पाठ

नेपाल लगायत यी देशका टीपीएसवाहकको कागजातको अवधि आगामी जनवरी ४ मा समाप्त हुन लागेको थियो । तर अब यो अवधि अक्टोबर ४, २०२१ सम्म बनाइएको छ ।

अमेरिकी अदालतमा रहेका विभिन्न मुद्दाका आदेशहरुको कार्यान्वयनका क्रममा टीपीएसका कागजातको अवधि थपिएको हो । वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वत थपिएको छ ।

टीपीएसवाहकले कुनै पनि आवेदन दिनुनपर्ने जनाइएको छ । रोजगार दातालाई फेडरल रजिस्टरमा प्रकाशित सुचना देखाएर वर्क परमिटको म्याद थपिएको जानकारी गराउन सकिनेछ ।

टीपीएसका कागजातको म्याद थपिएको जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्नेछन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।

हाल टीपीएसमा रहेका व्यक्तिले म्याद थपिएको सुविधा लिनका लागि कुनै शुल्क तिर्नु नपर्ने जनाइएको छ । भविश्यमा अमेरिकी अदालतबाट टीपीएसको पक्षमा कुनै आदेश वा फैसला आएमा अमेरिकी सरकारले पुन दर्ताका लागि सुचना प्रकाशित गर्न वा त्यसको प्रकृयाबारे जानकारी गराउनसक्ने जनाइएको छ ।

नेपालीहरुको आई ९४ को सन्दर्भमा जुन २४, २०१८ र जुन २४, २०१९ को म्याद भएका आई ९४ को अवधि अब स्वत लम्बिएर अक्टोबर ४, २०२१ सम्म हुनेछ ।

कागजातको म्याद थपसँगै बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकले अझै पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने भएका छन् । सन् २०१६ को अक्टोबर २६ देखि डिसेम्बर २७ सम्म र सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म सरकारले नेपाली टीपीएसवाहकका लागि रि रजिस्ट्रेशन खुलाएको थियो ।

यी मध्ये कुनै पनि अवधिमा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्ने जनाइएको छ । तर त्यसका लागि पहिलो पटक सन् २०१५ मा भने भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ । रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्ने जनाइएको छ ।

नयाँ वर्क परमिट पाउन आवेदन दिनुपर्छ?

तपाईले स्वत थपिएको अवधिबाट सुविधा लिनका लागि वर्क परमिटका लागि आवेदन दिनु नपर्ने युएससीआईएसले जनाएको छ । तपाईले फेडरल रजिस्टरमा प्रकाशित सुचनाका आधारमा सन् २०२१ को अक्टोबर ४ सम्म प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाई नेपालको टीपीएसवाहक हुनुहुन्छ र तपाईले अक्टोबर ४, २०२१ सम्म नै म्याद उल्लेख भएको वर्क परमिट लिन चाहनुहुन्छ भने तपाईले वर्क परमिटका लागि आई ७६५ फर्म भरेर आवेदन दिन सक्नुहुन्छ । तर उक्त फर्म भर्दा तपाईले फर्म सँग सम्बन्धित शुल्क भने तिनुपर्छ ।

यदि तपाईले नयाँ म्याद सहितको वर्क परमिट चाहनुहुन्न भने तपाईले आई ७६५ फर्म भर्न र शुल्क तिर्न आवश्यक छैन । तपाईले भविश्यमा कुनै पनि बेला नयाँ वर्क परमिट चाहनुहुन्छ भने त्यतीबेला पनि शुल्क तिरेर फर्म आई ७६५ भरेर आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाई टीपीएस पेन्डिंग अवस्थामा रहेको वा तपाई टीपीएसमा रहेको हुनुपर्छ ।

यदि तपाईले सन् २०२१ को अक्टोबर ४ सम्म म्याद भएकै वर्क परमिट चाहनुहुन्छ भने तपाईले तपाईसँग अहिले भएको वर्क परमिटको म्याद नसकिदै वा सकिएपछि जहिले पनि आवेदन दिन सक्नुहुनेछ । तर याद गर्नुहोस्, तपाईको वर्क परमिटमा सन् २०२० को मार्च २४ सम्म, सन् २०१८ को जुन २४ सम्म वा सन् २०१९ को जुन २४ सम्मको म्याद छ भने तपाईले नयाँ वर्क परमिट नलिएरै उक्त वर्क परमिटले काम चलाउन सक्नुहुनेछ ।

यदि तपाईले वर्क परमिटका लागि आवेदन दिंदा बायोमेट्रिक शुल्क र आवेदन शुल्क वा दुईमध्ये एक तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाईले शुल्क मिनाहाका लागि फर्म आई ९१२ भरेर आवेदन दिन सक्नुहुनेछ ।

यदि तपाईको वर्क परमिट आवेदन पेन्डिंग अवस्थामा छ भने तपाईले स्वत नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नुहुनेछ, नयाँ आवेदन दिन आवश्यक हुनेछैन । पुरानै वर्क परमिटले काम गर्ने भएपनि सरकारका कतिपय निकायमा बुझाउन असहज हुनसक्ने, सधै फेडरल रजिस्टरमा प्रकाशित सुचना बोकेर हिड्न असहज हुने, ड्राइभर लाइसेन्स वा स्टेट आईडीको म्याद थप्ने क्रममा झन्झट हुनसक्ने, रोजगारदातालाई बुझाउन झन्झट हुनसक्ने वा रोजगारदाताले अनलाइनमा चेक गर्ने झन्झटका कारण काममा नै नराख्ने जस्ता समस्या आउनसक्ने भएकाले नयाँ म्याद सहितको वर्क परमिटका लागि आवेदन दिन कानुन व्यवसायीहरुको सुझाव छ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com