पारिवारिक ग्रिनकार्डका प्रयोग भएनन् १ लाख बढी कोटा, रोजगारमा आधारित ग्रिनकार्डमा जोडिने


प्रकाशित मिति : पुस ११, २०७७ शनिबार

आर्थिक बर्ष २०२० का लागि अमेरिकी सरकारले तय गरेको परिवारमा आधारित ग्रिनकार्डका पूरै कोटा प्रयोग नभएपछि उक्त संख्या आर्थिक बर्ष २०२१ को रोजगारमा आधारित ग्रिनकार्डको कोटामा थपिएको छ । आर्थिक बर्ष २०२१ का लागि रोजगारमा आधारित ग्रिनकार्डको कोटा संख्या २ लाख ६२ हजार तय गरिएको छ ।

अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्डका लागि बार्षिक कोटा १ लाख ४० हजार तय गरिएको छ । त्यस्तै परिवारमा आधारित ग्रिनकार्डका लागि कम्तीमा २ लाख २६ हजारको कोटा तय गरिएको छ । तर कुनै बर्ष परिवारमा आधारित ग्रिनकार्डको पूरै कोटा प्रयोग नभएमा प्रयोग नभएको संख्या अर्को बर्षको रोजगारमा आधारित ग्रिनकार्डको कोटामा जोडिन्छ ।

आर्थिक बर्ष २०२० को परिवारमा आधारित ग्रिनकार्डको झण्डै १ लाख २२ हजार संख्या प्रयोग नभएपछि त्यो संख्या आर्थिक बर्ष २०२१ को रोजगारमा आधारित कोटामा जोडिएको छ । रोजगारमा आधारित पहिलोदेखि पाँचौं श्रेणीसम्मका ग्रिनकार्ड रहेका छन् । हरेक श्रेणीका लागि ग्रिनकार्डको नम्बर तय गरिएको छ ।

२०२१ का लागि परिवारमा आधारित ग्रिनकार्डको कोटा

रोजगारमा आधारित ग्रिनकार्डको पहिलो श्रेणीका लागि ७४ हजार ९ सय ३२, दोश्रो श्रेणीका लागि ७४ हजार ९ सय ३२ र तेश्रो श्रेणीका लागि पनि ७४ हजार ९ सय ३२ ग्रिनकार्डको संख्या तय गरिएको छ । पहिलो श्रेणीमा प्रयोग नभएका दोश्रो र दोश्रोमा प्रयोग नभएका तेश्रोमा झर्दै जानेछन् ।

त्यस्तै चौथो श्रेणीका लागि १८ हजार ६ सय २ र पाँचौं श्रेणीका लागि १८ हजार ६ सय २ तय गरिएको छ । चौथो र पाँचौैं श्रेणीमा प्रयोग नभएका ग्रिनकार्ड पहिलो श्रेणीमा जोडिनेछन् ।

२०२१ का लागि रोजगारमा आधारित ग्रिनकार्डको कोटा

रोजगारमा आधारित ग्रिनकार्डको हरेक देशका लागि पनि कोटा तोकिएको छ । जस अन्तरगत एउटा देशका लागि पहिलो श्रेणीमा ५ हजार २ सय ४६, दोश्रो श्रेणीमा ५ हजार २ सय ४५, तेश्रो श्रेणीमा ५ हजार २ सय ४५, चौथो श्रेणीमा १३ सय २ र पाँचौ श्रेणीमा १३ सय २ तोकिएको छ । एउटा देशका लागि सबै श्रेणीका गरी १८ हजार ३ सय ४० संख्या तोकिएको छ । अर्थात् एउटा देशका व्यक्तिले १८ हजार ३ सय ४० रोजगारमा आधारित ग्रिनकार्ड पाउन सक्छन् ।

त्यस्तै परिवारमा आधारित विभिन्न श्रेणीका ग्रिनकार्डका लागि आर्थिक बर्ष २०२१ को कोटा संख्या २ लाख २६ हजार तोकिएको छ । जस अन्तरगत हरेक देशका लागि अमेरिकी नागरिकका २१ बर्ष कटेका अविवाहित छोराछोरीका लागि १६३८, अमेरिकी ग्रिनकार्ड वाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीका लागि ६१५१, ग्रिनकार्डवाहकका २१ बर्ष कटेका अविवाहित छोराछोरीका लागि १८३८, अमेरिकी नागरिकका विवाहित छोराछोरीका लागि १६३८ र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीका लागि ४५५५ जनाको कोटा तोकिएको छ । अर्थात् हरेक देशबाट यी श्रेणीमा तोकिएको संख्यामा ग्रिनकार्ड पाउन सक्नेछन् ।

देशीय कोटा नलाग्ने परिवारमा आधारित थप ६५ हजार ९ सय ५० कोटा रहेका छन् । परिवारमा आधारित ग्रिनकार्डको कोटा ४ लाख ८० हजार भएपनि गतबर्ष ग्रिनकार्ड लिएका अमेरिकी नागरिकका दम्पत्ति र छोराछोरीको संख्या घटाएर बर्षका लागि कोटा कायम गरिन्छ । यो संख्या २ लाख ५४ हजार भन्दा धेरै भएपनि बर्षका लागि परिवारमा आधारित ग्रिनकार्डको कोटा २ लाख २६ हजारभन्दा कम कायम गरिदैछ ।

ग्रिनकार्डका लागि तोकिएको बार्षिक कोटामा हरेक देशले पाउने ग्रिनकार्डको संख्या कुल ग्रिनकार्डको ७ प्रतिशतसम्ममात्र हुन्छ । आर्थिक बर्ष २०२० मा कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिसा प्रतिबन्धले गर्दा परिवारमा आधारित ग्रिनकार्डको ठूलो संख्या प्रयोग हुन पाएन । त्यो संख्या आर्थिक बर्ष २०२१ को रोजगारमा आधारित ग्रिनकार्डमा जोडिएको हो ।

नेपालीका सन्दर्भमा आर्थिक बर्ष २०२१ मा ग्रिनकार्डको कोटा परिवारमा आधारित १५ हजार ८ सय २० र रोजगारमा आधारित १८ हजार ३४० रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com