भ्याक्सिनले कोरोनाको नयाँ प्रकारबिरुद्ध काम गर्ने नगर्नेमा वैज्ञानिकहरुको चिन्ता
प्रकाशित मिति : पुस ६, २०७७ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/12/Corona.jpg?fit=1024%2C696&ssl=1)
अमेरिकाको वाल्टर रिड अस्पतालका वैज्ञानिकहरुले कोरोनाको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनले काम गर्ने नगर्ने केही दिनमा पत्ता लाग्ने आशा व्यक्त गरेका छन् । बेलायत लगायत कैयन देशमा कोरोनाको नयाँ प्रकार देखिएपछि अहिले बनाइएका भ्याक्सिनले काम नगर्ने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।
वाल्टर रिड अस्पतालका वैज्ञानिकहरुले कोरोनाको नयाँ प्रकारबिरुद्ध पनि भ्याक्सिनले काम गर्ने आशा व्यक्त गरेका छन् । वाल्टर रिड अस्पतालको सरुवा रोग शोधकेन्द्रका निर्देशक डाक्टर नेल्सन माइकलले कोरोनाको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनले काम गर्ने वा नगर्ने परीक्षण गरिने बताएका छन् ।
बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएपछि विश्वमा अहिले नयाँ आतंक फैलिएको छ । बेलायतका स्वास्थ्यमन्त्रीले भाइरस नियन्त्रणबाहिर गएको बताएका छन् भने नयाँ लकडाउन र यात्रा प्रतिबन्धहरु लगाइएको छ ।
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/10/Walter-reed.jpg?resize=720%2C320&ssl=1)
कोरोनाको नयाँ प्रकार दक्षिणपूर्वी इंग्ल्याण्डमा र डेनमार्कमा देखिएको पुष्टी भएको हो । त्यस्तै नेदरल्याण्डस र अष्ट्रेलियामा पनि कोरोनाको नयाँ प्रकार देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
क्यानडा, अर्जेन्टिना, फ्रान्स, मोरक्को, रसिया, भारत लगायतका देशहरुले बेलायतबाट हुने यात्रामा रोक लगाएका छन् । सोमबारसम्म युरोप, मध्यपूर्व र अमेरिकाका कैयन देशहरुले बेलायतबाट आउनेहरुमाथि कडाई र प्रतिबन्धहरु घोषणा गरेका छन् ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रकारका परीक्षणविना नै लण्डनबाट विमानमार्फत न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा आएको बताएका छन् । बेलायतबाट आउनेहरुलाई लापरवाही तरिकाले न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा आउन दिइएकोमा कुमोले विरोध गरेका छन् ।
तत्काल पूर्ण प्रतिबन्ध नलगाउने हो भने बेलायतबाट आउनेहरुमाथि परीक्षण नियम लागु गर्न कुमोले संघीय सरकारलाई आग्रह गरेका छन् । बेलायतबाट हरेक दिन ६ वटा उडानहरु आइरहेको र संघीय सरकारका तर्फबाट अहिलेसम्म कुनै पनि कदम नचालिएको कुमोले बताएका छन् ।