आठसय बर्षपछि सोमबार बृहस्पति र शनीको नजिकको संयोजन, यसरी नाँगो आँखाले हेर्न सकिने
प्रकाशित मिति : पुस ५, २०७७ आईतबार
सोमबार ८ सय बर्षमा सौर्यमण्डलमा एउटा दुर्लभ घटना हुने भएको छ । सोमबार ८ सयबर्षपछि बृहस्पति र शनी पहिलोपटक नजिकको दुरीमा आउने भएका छन् ।
मध्ययुगदेखि यता पहिलोपटक दुईवटा ग्रहको संयोजन भएको दुर्लभ घटना देख्न सकिने भएको छ । जब दुईवटा खगोलीय बस्तुहरु आकाशमा नजिक आउँछन् र पृथ्वीबाट हेर्नसकिन्छ, तब यस्तो संयोजनको घटना हुने खगोलविदहरु बताउँछन् ।
यस्तो घटना हरेक साढे १९ बर्षमा हुने भएपनि डिसेम्बर २१ को घटना भने अझ दुर्लभ हुनेछ । सन् १२२६ यता पहिलोपटक बृहस्पति र शनीबीच नजिकको हेर्नमिल्ने संयोजन हुने भएको छ ।
सन् १६२३ मा पनि बृहस्पति र शनी यस्तै नजिकको दुरीमा आएका थिए । तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन । अब यस्तो घटना कम्तीमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएकोछ ।
डिसेम्बर २१ को घटना सहजै हेर्न सकिने भएको छ । सूर्यास्तपछि बाहिर निस्केर दक्षिणतिरको आकाशमा हेरेको खण्डमा बृहस्पति र शनीलाई देख्न सकिनेछ । कुनै उपकरणको सहायताविना सिधै आँखाले समेत यो दृश्य हेर्न सकिनेछ । बृहस्पतिले अगाडि बढेर शनीलाई उछिनेको दृश्य देखिनेछ ।
स्पष्टरुपमा हेर्नका लागि बाइनाकुलरको प्रयोग गर्न सकिनेछ । संयोजन भएको साँझ सामान्य टेलिस्कोपबाट पनि यो हेर्न सकिने भएको छ ।
यो दुर्लभ दृश्यको फोटो समेत सामान्य क्यामेराबाट खिच्न सकिने जनाइएको छ । यो दृश्य आकाश खुल्ला भएको संसारको जुनसुकै स्थानबाट हेर्न सकिनेछ ।
डिसेम्बर २१ मा हेर्न छुटाएको खण्डमा डिसेम्बर २४ सम्म पनि बृहस्पति र शनी नजिक भएको दृश्य हेर्न सकिनेछ । त्यसपछि भने बृहस्पति र शनी टाढा हुनेछन् ।