गोहीको मुखबाट उद्दार गरिएको कुकुर फ्लोरिडा प्रहरीमा सुरक्षा अधिकारी नियुक्त


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

गोहीको मुखबाट उद्दार गरिएको क्याभालियर किंग चाल्र्स स्पानियल प्रजातीको ४ महिनाको एउटा कुकुरलाई फ्लोरिडाको लि काउन्टीको प्रहरीले सुरक्षा अधिकारीमा नियुक्त गरेको छ । लि काउन्टी प्रहरी कार्यालयले गनर नामको उक्त कुकुरलाई प्रहरीको सहयोगी कुकुरमा नियुक्त गरेको हो ।

‘यो एकदमै महत्वपूर्ण दिन हो । अब तिमी डिटेक्टिभ बन्न गइरहेका छौ । गनर, के तिमीले लि काउन्टी प्रहरी कार्यालयका लागि संवैधानिक कानुनको समर्थन गर्दै सपथ लिन्छौ ?’ –  लि काउन्टीका प्रहरी अधिकारीले उक्त कुकुरलाई सोधेका थिए ।

कुकुरले प्रहरी अधिकारीको नाकमा चुम्मन गरेपछि डेपुटी डगको ब्याज प्रदान गरिएको थियो ।

एकमहिना अगाडि यो कुकर फ्लोरिडामा गोहीको मुखमा परेको थियो । त्यसपछि उसलाई मालिकले पानीमा हामफालेर गोहीको मुखबाट निकालेका थिए ।

पानीबाट गोही मिसाइल जस्तै आएको र कुकुरलाई टिपेर लगेको उसका मालिकले बताए । त्यसपछि आफू पानीमा तुरुन्तै हामफालेर कुकुरलाई बचाएको उनको भनाई छ ।

कुकुरको पेटमा सामान्य चोट लागेको थियो । तर उसलाई बचाएका उसका मालिकको भने हातमा चोट लाग्दा अस्पताल जानुपरेको थियो ।

लि काउन्टीको प्रहरीले डे्पुटी डग्स पेट्स अन पेट्रोल कार्यक्रम लागु गरिरहेको छ । जस अन्तरगत त्यसक्षेत्रका निवासी र उनीहरुका कुकुरहरुलाई आफ्नौ दैनिक हिडडुलका क्रममा समुदायको हेरचाहका लागि नियुक्त गरिन्छ ।

यो कार्यक्रमले कुकुरका मालिकहरुलाई आफ्ना कुकुरहरुसँगै हिडडुल गर्दा कुनै शंकास्पद गतिविधि देखेमा नजर राख्नका लागि प्रोत्साहित गर्छ । उनीहरुलाई छिमेकमा कुनै जनवरमाथि दुब्र्यबहार भएको पाइएमा प्रहरीलाई खबर गर्न समेत भनिएको हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com