प्रधानमन्त्रीकै निवासमा प्रचण्डको अध्यक्षतामा बैठक, ओलीलाई कारबाही सिफारिस
प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

प्रधानमन्त्री निवास वालुवाटरमा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लग्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीकै सरकारी निवास वालुवाटारमा बसेको बैठकले त्यस्तो सिफारिस गरेको हो । सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको सिफारिस गरेपछि पूर्वनिर्धारित बैठक कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा भएको थियो।
बैठकले प्रधानमन्त्रीको सिफारिसलाई असंवैधानिक कदमको संज्ञा दिएको छ। त्यसको विरोध गर्न बैठकले सबैलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीले सामुहिक राजिनामा दिइसकेका छन् ।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल छन् ।
राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् ।
७ जना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेपछि पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट भने ओलीको पक्षमा उभिएका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिए पनि पूर्वमाओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले राजीनामा दिएनन् । बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए ।