तोरी पेल्ने कोल लोप हुँदै


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै तेह्रथुमका गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ ।

कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि कोलको प्रयोग हुन छाडेको छ । अहिले जिल्लाका दुर्गम गाउँसम्म सडक सुविधा पुगेको छ । सडक पुगेपछि त्यहाँसम्म पनि प्याकेटमा तयार पारिएको तेल सहजै उपलब्ध हुन थालेको छ ।

प्याकेटमा तयारी तेल उपलब्ध हुन थालेपछि तोरी पेल्ने कोल प्रयोग हुन छाडेको आठराइ गाउँपालिका– ७ का दमन्ता बुढाथोकी बताउनुहुन्छ । समय र पुस्ता परिवर्तनसँगै सुविधा थपिँदै गएको तथा पुराना बस्तुको महत्व घट्दै गएको उहाँको भनाइ छ ।

“पहिले टोल टोलमा कोल हुन्थ्यो, अहिले मिल हालिएको छ,” सुदापका कमानसिंह लिम्बू भन्नुहुन्छ ।

सिलाइकटाइ तालिम र मेसिन

त्यसैगरी सिर्जना र आयआर्जनमूलक कार्यमा अविबृद्धि गर्न आठराइ गाउँपालिकाका ३० जना दलित युवालाई सिलाइकटाइ तालिम दिइएको छ । युवालाई तालिमपछि रु दुई लाख २५ हजार बराबरका सिलाइ मिसिन समेत वितरण गरिएको छ ।

दलित समुदायलाई सीप विकासको लागि तीन महिने निःशुल्क सिलाइकटाइ तालिम दिई कपडा सिउने १६ थान मिसिन वितरण गरिएको हो । नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिको आयोजनामा सञ्चालित तालिमका सहभागिलाई मेसिन वितरण गरिएको तालिमका सहजकर्ता मिलन नेपालीले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com