ब्राजिलमा कोरोना भाइरसबाट करीब एक लाख ७९ हजारको मृत्यु
प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार
ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८ सय ३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९ सय ९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७९ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी यहाँ गएको २४ घन्टायता मात्र गरेको परीक्षणका क्रममा ५३ हजार ४ सय ५३ जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अमेरिकी यस देश कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६७ लाख २८ हजार ४ सय ५२ जना संक्रमित फेला परिसकेका छन् ।
ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८ सय ३६ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो ।
कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उनको विरोध भएको हो । यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् । -एजेन्सी