साझा र विवेकशील पार्टीको पुनः एकता आज हुँदै
प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार
साझा पार्टी र विवेकशील नेपाली दलबीच आज दोस्रो पटक एकता घोषणा हुँदै छ । बुधबार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट एकीकरण घोषणाको कार्यक्रम हुनेछ । कोरोना भाइरसको महामारीका कारण एकीकरण भर्चुअल माध्यमबाट गर्न लागिएको हो ।
विभाजन भएको २३ महिनापछि साझा र विवेकशील पुनः एकीकरण हुन लागेको हो । २७ पुस ०७५ मा यी दुई दल विभाजन भएका थिए । अब विगतका कमजोरीप्रति क्षमायाचना गर्दै पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने उदेश्यका साथ पुनः एक हुन लागिएको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।
दोस्रो पटक हुन लागेको एकतामा साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियताका संयोजक हुने बताइएको छ । केन्द्रीय समितिमा दुबै पार्टीका तर्फबाट ६५-६५ जना गरी एक सय ३० जना सदस्य रहने छन् । पार्टीको चुनाव चिह्न तराजु र पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने दुवै दलबीच सहमति भइसकेको छ ।