सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।

मंगलबार नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको ८६ सेन्टिमिटर उचाइ बढेको घोषणा गरेका हुन् ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

उचाइ मापनमा नेपालले चीनसँग समन्वय गरेकाे थियो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com