लाखौंलाई देशनिकाला हुनबाट जोगाउने ओबामाकालिन कार्यक्रमलाई संघीय अदालतबाट पुनर्जीवन


प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

बाल्यकालमा अमेरिका आएका दशौं हजार कागजपत्रविहिन आप्रवासीहरु वर्क परमिट प्रदान गर्ने र देशनिकालाबाट संरक्षण प्रदान गर्ने ओबामा युगको डाका कार्यक्रमका लागि आवेदन दिन तत्काल योग्य भएका छन् । शुक्रबार न्युयोर्कको संघीय अदालतका न्यायाधिसले यस्तो आदेश जारी गरेका हुन् ।

बु्रकलिनको युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधिस निकोलस ग्राउफिसले ८ बर्ष पुरानो यो कार्यक्रम पूर्णरुपमा पुनस्थापना गरिएको बताएका छन् । ट्रम्प प्रशासनले यो कार्यक्रमलाई खारेज गर्न लगातार प्रयास गर्दै आइरहेको थियो ।

न्यायाधिसले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोमबार सम्म नयाँ आवेदन स्वीकारका लागि सुचना जारी गर्न समेत निर्देशन दिएका छन् । पहिलोपटक आवेदन दिन चाहनेहरुले पनि आवेदन दिन पाउने र वर्क परमिट २ बर्षका लागि जारी गरिने कुरा सुनिश्चित गर्न न्यायाधिसले आदेश दिएका छन् ।

ट्रम्प प्रशासनले गत जुलाईमा डाकाको वर्क परमिट एकबर्षका लागिमात्र सिमित गर्न मेमो जारी गरेको थियो । तर न्यायाधिसले यस्तो मेमो जारी गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड उल्फले गैरकानुनी रुपमा उक्त पदधारण गरेको भन्दै मेमो समेत खारेज गरिदिएका छन् ।

आप्रवासी अधिकारकर्मीहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेको यो आदेशमा खुशियाली मनाइरहेका छन् । यद्यपी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डाका कार्यक्रम पुनस्थापित गर्ने अपेक्षा भने गरिएको थियो ।

टेक्सासका एटोर्नी जनरलले संघीय न्यायाधिसलाई डाका कार्यक्रम गैरकानुनी घोषणा गर्न र यो कार्यक्रम खारेज गर्न अनुरोध गरेका छन् । जसको सुनुवाई यसै महिनाको अन्त्यका लागि तोकिएको छ । अमेरिकामा झण्डै ६ लाख ४० हजार कागजपत्रविहिनलाई डाका कार्यक्रमले देशनिकाला हुनबाट संरक्षण प्रदान गर्दै वर्क परमिट समेत प्रदान गरेको छ ।

डाका कार्यक्रमबाट संरक्षित नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् । उनीहरु बाल्यकालमा नै बाबुआमाबाट अमेरिकामा ल्याइएका र पछि कागजपत्रविहिन भएकाहरु हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com