मजबुत बन्दैछ सीमा, बढ्दैछ सुरक्षा


प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार

दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी)को गाली खानुपर्यो ।

भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपर्थ्यो तर अब भने सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थालेका छन् । नेपालतर्फ पनि ठाउँठाउँमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि पुराना समस्या हल हुने स्थानीयवासीको अनुमान छ । हुन पनि सीमावर्ती क्षेत्रमा पाँच महिनाको अवधिमा पाँचवटा बिओपी स्थापना गरिएको छ ।

सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अघिल्लो वर्ष नै बिओपी स्थापना भएको थियो भने कालपोखरी, छब्बिसे, सलकपुर, समाल्बुङ र जौबारीमा बिओपी स्थापना भइसकेको छ । जौबारीमा सोमबार मात्रै बिओपी स्थापना गरिएको हो । सरकारले बिओपी स्थापनाका लागि स्वीकृति दिएको मानेभञ्ज्याङमा मात्रै बिओपी राख्न बाँकी छ । मानेभञ्ज्याङमा पनि बिओपी स्थापनाका लागि तयारी भइरहेको बताइएको छ ।

सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी खडा गरिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले बताए । छोटो समयमा सुरक्षाका लागि बिओपी बने पनि यति मात्र सुरक्षाले सीमा पूर्ण हुने अवस्था छैन । भारततर्फ एसएसबीको क्याम्प नै बसेकाले पनि ठूलै सङ्ख्यामा सुरक्षा खटाउनुपर्ने देखिन्छ । थापाका अनुसार अहिले पनि बिओपीमा तोकिएबमोजिमको सुरक्षा दिन जनशक्तिको अभाव छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कालपोखरीको बिओपी स्थापनाका लागि एक स्थानीयले छ महिनाका लागि निःशुल्करूपमा आफ्नो घर दिएका छन् भने छब्बिसेमा एक वर्षका लागि निःशुल्क घर उपलब्ध गराएपछि बिओपी राखिएको छ । ती ठाउँमा आफ्नै संरचना बनाउनका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त भएपछि संरचना निर्माण अघि बढाइने सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।

प्रदेश नं १ का कृषि तथा सहकारी राज्यमन्त्री एवं इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य राम रानाका अनुसार सीमाको गतिविधिलाई बुझ्दै निरन्तर जनशक्ति बढाउँदै लगिने छ । विगतमा सर्वसाधारणले मात्र सुरक्षा दिइरहेको सीमामा अब सुरक्षाकर्मी थपिएपछि क्रमशः सङ्ख्या र संरचना बढाउँदै लगिने उनको भनाइ छ । “पहिले गोठालाले मात्र सीमाको रक्षा गर्नुपर्थ्यो, अब केही दह्रो भयो”, उनले भने । नेपालतर्फबाट सुरक्षा नपुगेकै कारण कतिपय क्षेत्रमा गाडिएका पिलर पनि गुमनाम बनाइएको छ ।

जिल्लाकै अग्लो सन्दकपुर गाउँपालिकास्थित सन्दकपुर (३६३६ मि) मा त गाउँपालिकाले निर्माण गर्दै रहेको भवनमा समेत भारतीय पक्षले झमेला गरेको छ । सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन् ।

जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ मात्रै फेला परेका छन् । रोङ गाउँपालिका–६ मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छ । एउटा सीमास्तम्भ हराएको भए पनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ । भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा चार मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसका लागि पनि सीमामा पर्याप्त सुरक्षा आवश्यक पर्ने बताउँछन् सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनाल । सीमा सुरक्षाका लागि स्थापना भएको बिओपीले सीमाको निगरानी, सीमास्तम्भको अभिलेखीकरण, त्यसको सुरक्षा, भारतीय सीमा सुरक्षा (बल एसएसबी)सँग संयुक्त गस्ती, चोरी तस्करी नियन्त्रण र सीमामा समन्वयको काम गर्नेछन् ।

अहिलेसम्म स्थापना भएका छवटा बिओपी सरदर साढे सात किलोमिटर हाराहारी पर्नुपर्ने हो । तर कुनै बिओपीलाई चार किलोमिटर दूरी पर्छ भने कुनैको भागमा १२ किलोमिटरसम्मको दूरी पर्छ । कुनै ठाउँमा बिओपीको आवश्यकता परेमा थप गर्ने प्रहरी उपरीक्षक थापाले बताए। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com