अमेरिकाको भिजिटर भिसाका लागि १५ हजार डलरसम्म धरौटी, नेपालीलाई यसकारण छुट


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम आजैदेखि लागु हुनेगरी प्रकाशित गरेको छ । यो नियम अनुशार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले अमेरिकाको भिजिटर भिसा प्राप्त गर्नका लागि ५ हजार, १० हजार र १५ हजार डलर धरौटी राख्नुपर्ने हुनसक्नेछ ।

सबै भिसा आवेदकका लागि धरौटी रकम राख्न आवश्यक नभएपनि भिसा कन्सुलर अधिकारीले फर्कने आशंका रहेका भिसा आवेदकलाई धरौटी रकमको विकल्प दिनसक्नेछन् । कति रकम धरौटीवापत राख्ने भन्ने निर्धारण भने भिसा कन्सुलर अधिकारीले नै गर्नेछन् । यो कार्यक्रम डिसेम्बर २४ देखि सुरु हुनेछ भने सन् २०२१ को जुन २४ सम्म लागु हुनेछ ।

यो अस्थायी अन्तिम नियम भएकाले यसमा कमेन्ट अवधि राखिएको छैन । भिसा आवेदकको अवस्था हेरेर धरौटी राख्नुपर्ने वा नपर्ने निर्धारण गर्ने अधिकार भिसा कन्सुलर अधिकारीलाई दिइएको छ भने यदि तोकिएको समयमा नफर्केको खण्डमा राखेको धरौटी रकम डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले लिनेछ ।

भिजिटर भिसामा १० प्रतिशतभन्दा बढी ओभरस्टे दर भएका देशका नागरिकका लागि यो नियम लागु हुनेछ । आर्थिक बर्ष २०१९ को रिपोर्ट अनुशार यो दर निर्धारण गरिनेछ । नेपालीहरुको ओभरस्टे दर जम्मा ३ दशमलव ३८ प्रतिशतमात्र रहेका कारण नेपालीका सन्दर्भमा यो नियम लागु हुनेछैन ।

नियमको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

आर्थिक बर्ष २०१९ मा भिजिटर भिसामा आएका २७ हजार ९६ नेपालीहरुले अमेरिका छाड्नुपर्ने भएकोमा ९१६ जनामात्र अमेरिकामा ओभरस्टे भएका थिए । जसमध्ये २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडेका थिए भने ६ सय ७४ जना अमेरिकामा नै ओभरस्टे भएका थिए ।

अफगानिस्तान, एंगोला, भुटान, बर्मा, बुरुण्डी, बुर्किना फासो, चाड, कंगो, इरान, लाओस, लिबिया, सुडान लगायतका कैयन देशका सन्दर्भमा भने यो नियम लागु हुनेछ । अर्थात् उनीहरुका लागि भिसा जारी गर्दा कन्सुलर अधिकारीले धरौटी रकमको विकल्प दिन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com