सरकारी ‘एनआरएन कार्ड’ लिएकालाई अन अराइभल भिसा


प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार

अब सरकारी एनआरएन कार्ड लिएका र म्याद बाँकी रहेका विदेशी नागरिकताप्राप्त नेपाली मुलकाहरुलाई नेपाल जाँदा विमानस्थलमा नै अन अराइभल भिसा दिइने भएको छ । तर यात्रा सुरु हुनुभन्दा ७२ घण्टा भित्रको कोरोना परीक्षणको पीसीआर रिपोर्ट भने नेगेटिभ भएको हुनुपर्नेछ ।

पीसीआर रिपोर्ट नेगेटिभ भएका अभिभावकका ५ बर्ष मुनीका बालबालिकाहरुका सन्दर्भमा भने पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाइएको छ । पीसीआर रिपोर्टबारे एयरलाइन्सको अलग्गै व्यवस्था हुनसक्ने भएकाले सम्बन्धित एयरलाइन्ससँग समेत बुझ्न नेपाली दूतवास वासिंटन डिसीले सुझाव दिएको छ ।

नेपालमा रहेका कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुमा कार्यरत विदेशी नागरिक तथा उनीहरुका परिवारलाई पनि ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गरेको खण्डमा विमानस्थलमा अन अराइभल भिसा दिइने भएको छ ।

यी बाहेक अन्यले भने पराराष्ट्र मन्त्रालय वा गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय वा विदेशमा रहेका नेपाली कुटनीतिक नियोगबाट स्वीकृति प्राप्त गरेरमात्र नेपाल जान पाउनेछन् । स्वीकृति प्राप्त गरेकाहरुलाई भने प्रवेश बिन्दुमा अन अराइभल भिसा प्रदान गरिने जनाइएको छ ।

यसैबीच अमेरिकामा रहेको नेपाली दूतावासले राहदानी, भिषा, ट्राभल डकुमेन्ट, प्रमाणिकरण लगायतका सेवाहरु अर्को सुचना जारी नभएसम्मका लागि हुलाकबाटमात्र प्रदान गर्ने जनाएको छ । अधिकृत वारेसनामा लगायत सेवाग्राही अनिवार्य उपस्थीत हुनुपर्ने सेवाहरु भएमा अति जरुरी अवस्थामा पहिले नै अप्वाइन्टमेन्ट समय निश्चित गरेर आउन सकिने दूतावासले जनाएको छ ।

यदि कसैले दूतावासबाटै भिसा लिन चाहेको खण्डमा आवश्यक कागजातसहित हुलाकमार्फत आवेदन दिन सकिने दूतावासले जनाएको छ । नेपाल यात्रा गर्नु अगाडि सम्पूर्ण यात्रुहरुले अन्तर्राष्ट्रिय यात्रु आगमन फर्म अनिवार्य रुपमा भरी बारकोड सहितको प्रिन्ट वा डिजिटल प्रतिलिपी आफ्नो साथमा राखी यात्रा गर्नुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com