अहिलेसम्म युएससीआईएसबाटै एसाइलम पाउने नेपालीको संख्या सार्वजनिक, पछिल्लो एकबर्षमा ३६ जना


प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एकबर्षमा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीको संख्या सार्वजनिक गरेको छ । जस अनुशार आर्थिक बर्ष २०१९ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु ३६ जनामात्र रहेका छन् ।

यो संख्या सन् २००२ यताकै सबैभन्दा कम हो । सन् २००० मा युससीआइएसबाटै एसाइलम पाउने नेपालीको संख्या १८ मात्र रहेको थियो भने सन् २००१ मा २१ रहेको थियो । त्यसपछि सन् २००२ मा ६९ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाएका थिए । सन् २००२ मा माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो भने मुलुकमा संकटकाल लागु भएको थियो ।

जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा अमेरिकामा एसाइलम पाउने नेपालीहरुको संख्या पनि बढ्दै गयो । सन् २००३ मा युएससीआइएसबाटै एसाइलम पाउने नेपालीहरु १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८ र सन् २००६ मा २११ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाए । सन् २००६ मा माओवादी शान्ति प्रकृयामा आएको थियो ।

सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । सन् २०१० मा ४०८ र सन् २०११ मा ४१५ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । त्यसपछि सन् २०१२ मा ५८० जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेका थिए । जुन अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै थियो ।

त्यसपछि भने युएससीआईएसबाटै एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या घट्दै गयो । सन् २०१३ मा ४७४, सन् २०१४ मा २६३, सन् २०१५ मा ३५५, सन् २०१६ मा २३६, सन् २०१७ मा १४७, सन् २०१८ मा ९१ जना र सन् २०१९ मा ३६ जना नेपालीहरुले युएससीआईएसबाट एसाइलम पाए ।

ट्रम्प कार्यकालमा युएससीआइएसबाटै एसाइलम पाउने नेपालीहरुको संख्या ३ सयको हाराहारीमा मात्र रहेको छ । ओबामा कार्यकालका ८ बर्षमा ३ हजार भन्दा धेरै नेपालीहरुको युएससीआइएसबाटै एसाइलम स्वीकृत भएको थियो ।

सन् २००० भन्दा अगाडि युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या निकै कम रहेको थियो । सन् १९९९ मा १३ जना, सन् १९९८ मा १७ जना, सन् १९९७ मा ३ जना र सन् १९९६ मा ४ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

यसमा युएससीआइएसबाट अदालतमा रिफर गरिएका नेपालीहरुको तथ्यांक भने समावेश छैन । साथै मेक्सिकोको सिमाक्षेत्रबाट आएर अदालतबाट एसाइलम स्वीकृत हुनेहरुको संख्या पनि समावेश छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com