सरकारलाई डा. केसीले भने – ‘मेरो उपचार खर्च म आफै बेहोर्छु, बरु नागरिकप्रतिको कर्तव्य पूरा गरोस्’
प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार
डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए ।
‘कोभिड १९ बाट संक्रमित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।’ डा. केसीले भनेका छन् ।
उनले विपन्न र दूरदराजका कोरोना संक्रमितले अहिलेसम्म उपचार पाउन नसकेको गुनासो गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा पर्दछु।’ उनले भने ।
डा. केसीलाई बिहीबार पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।