३ इलेक्टोरल कलेज मत रहेको अलास्कामा ट्रम्पको जीत, कुल पपुलर मत ७२ मिलियन बढी


प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार

३ इलेक्टोरल कलेज मत रहेको अलास्कामा डोनाल्ड ट्रम्पले जितेका छन् । यो सँगै ट्रम्पको कुल इलेक्टोरल कलेज मत २१७ पुगेको छ । अब १५ इलेक्टोरल मत रहेको नर्थ क्यारोलिनामा ट्रम्प अगाडि छन् ।

बाइडेनले राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्ने २७० इलेक्टोरल मत प्राप्त गरिसकेपछि उनलाई विजेता घोषणा गरिसकिएको छ । बाइडेनले अहिलेसम्म २९० इलेक्टोरल कलेज मत सुरक्षित गरिसकेका छन् ।

जर्जियामा पनि बाइडेनले जीतेमा बाइडेनको कुल इलेक्टोरल मत संख्या ३०६ पुग्नेछ । अग्रता कायम रहेको नर्थ क्यारोलिनामा ट्रम्पले जीतेमा उनको इलेक्टोरल मत २३२ हुनेछ । जर्जियामा पुन मतगणना हुने भएको छ । पुन मतगणनापछि परिणाम बदलिएमा र ट्रम्पले जीतेमा पनि ट्रम्पले नर्थ क्यारोलिना र जर्जियासहित २४८ इलेक्टोरल मत प्राप्त गर्नेछन् । जुन राष्ट्रपति हुनका लागि प्रयाप्त छैन ।

पेन्सिलभेनियाको परिणाम समेत उल्टिएर ट्रम्पले जिते भनेपछि उनका लागि राष्ट्रपति हुनका लागि प्रयाप्त इलेक्टोरल कलेज मत हुनेछैन । पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया बाहेक पनि बाइडेनले २७० इलेक्टोरल मत सुरक्षित गरिसकेका छन् ।

अहिलेसम्मको मत गणना अनुशार ट्रम्पले ७२ मिलियन पपुलर मत प्राप्त गरेका छन् । बाइडेनले प्राप्त गरेको पपुलर मतको संख्या ट्रम्पको भन्दा ५ मिलियन बढी ७७ मिलियन रहेको छ । कुल मतको ५० दशमलव ८ प्रतिशत मत बाइडेनले पाएका छन् ।

जर्जियामा पुन: मतगणना हुने, मत हातैले गनिने

अमेरिकी राष्ट्रपति चुनावमा जर्जियामा जो बाइडेन र डोनाल्ड ट्रम्पबीच झिनो मतको अन्तर रहेपछि पुन: मतगणना गरिने जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पर्जरले बताएका छन् । रिपब्लिकन समेत रहेका जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राडले राज्यको चुनावको अन्तिम परिणाम प्रमाणिकरण गर्ने नोभेम्बर २० को डेडलाइन अगाडि पुन: गणना पूरा गर्ने गरी काम गर्ने बताएका छन् ।

झण्डै ५ मिलियन मतदान भएको जर्जियामा बाइडेनले झण्डै १४ हजार मतको अग्रता कायम गरेका छन् । विगतमा रिपब्लिकनको पकड रहेको राज्य जर्जिया अहिले ब्याटलग्राउण्ड राज्य भएको छ । जो बाइडेनले जर्जिया विना पनि अमेरिकी राष्ट्रपति हुनका लागि आवश्यक पर्ने २७० भन्दा धेरै इलेक्टोरल मत प्राप्त गरिसकेका छन् ।

ट्रम्प र उनको अभियानले विसकन्सिनमा पनि पुन: गणनाको माग गरिरहेका छन् । साथै ट्रम्पले चुनावमा धाँधली भएको समेत दावी गर्दै आएका छन् । ट्रम्पको अभियानका वकिलहरुले यसबारेमा कैयन मुद्दाहरु समेत दर्ता गराइसकेका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनले प्रयाप्त इलेक्टोरल कलेज मत प्राप्त गरेपछि कैयन रिपब्लिकनहरुले समेत बाइडेनलाई बधाई दिइसकेका छन् । तर ट्रम्पले भने अहिलेसम्म पराजय स्वीकार गरिसकेका छैनन् ।

जर्जियामा सिनेटका दुईपदमा समेत जनवरीमा पुन: निर्वाचन हुनेभएको छ । कुनै पनि उम्मेदबारहरुले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवारहरुबीच पुन: चुनाव हुने भएको छ । सिनेटमा रिपब्लिकन वा डेमोक्र्याट्स कस्को नियन्त्रण कायम रहने भन्ने कुराको मुख्य निर्धारक पनि जर्जिया नै हुने भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com