चुनाव हारेका कारण दोश्रो कार्यकाल सम्हाल्न नपाएका राष्ट्रपतिहरुमा डोनाल्ड ट्रम्प छैठौं


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

चुनाव हारेका कारण दोश्रो कार्यकाल सम्हाल्न नपाएका राष्ट्रपतिहरुमा डोनाल्ड ट्रम्प छैठौं बनेका छन् । उनी जर्ज बुस सिनियरपछि चुनावमा हारेका कारण दोश्रो कार्यकाल सम्हाल्न नपाउने पहिलो राष्ट्रपति भएका छन् । ट्रम्प भन्दा अगाडि अरु ५ जनाले चुनाव हारेका कारण दोश्रो कार्यकाल सम्हाल्न पाएनन् । जसमध्ये ४ जना रिपब्लिकन र एकजना डेमोक्र्याट्स थिए ।

विलियम टाफ्ट

विलियम टाफ्टले अमेरिकाको २७ औं राष्ट्रपतिका रुपमा सेवा गरेका थिए । सन् १९०९ देखि १९१३ सम्म उनी अमेरिकाको राष्ट्रपति भएका थिए । रिपब्लिकन राष्ट्रपति थियोडोर रुजभेल्टको सहयोगमा उनले सन् १९०८ को चुनाव जितेका थिए । तर ह्वाइटहाउसमा रहँदा उनको सम्बन्ध थियोडोर रुजभेल्टसँग चिसिदै गयो । त्यसपछि सन् २०१२ को चुनावमा रुजभेल्टले नै टाफ्टबिरुद्ध प्रगतिशिल पार्टीका तर्फबाट उम्मेदबारी दिए । परिणामस्वरुप दुबैले चुनाव हारे, डेमोक्रेटिक उम्मेदबार वुड्रो विल्सनले चुनाव जितेर राष्ट्रपति भए ।

हर्बर्ट हुभर

हर्बर्ट हुभर अमेरिकाका ३१ औं राष्ट्रपति थिए । रिपब्लिकन उम्मेदबार उनले सन् १९२९ देखि १९३३ सम्म राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका थिए । सन् १९२९ मा उनले कार्यभार सम्हालेलगत्तै अमेरिकाको स्टक मार्केट ढल्न पुग्यो । त्यसपछि अमेरिका ग्रेट डिप्रेशनतिर अगाडि बढ्यो । आर्थिक घाटालाई व्यवस्थीत गर्न नसकेको आरोप लागेका उनले सन् १९३२ को चुनाव हारे । डेमोक्रेटिक उम्मेदबार फ्यांकलिन डी रुजभेल्टले चुनाव जिते ।

जेराल्ड फोर्ड

जेराल्ड फोर्ड अमेरिकामा ३८ औं राष्ट्रपति हुन् । उनी पनि रिपब्लिकन राष्ट्रपति हुन् । उनी चुनावमा नउठीकनै अमेरिकाको उपराष्ट्रपति र राष्ट्रपति बन्न सफल भए । जब रिचार्ड निक्सनका उपराष्ट्रपति स्पीरो एग्नीउले असहमति जनाउँदै राजिनामा दिए, तब निक्सनले फोर्डलाई उपराष्ट्रपतिमा नियुक्त गरे । उनको नियुक्ती संसदबाट अनुमोदन गरियो । वाटरगेट काण्डका कारण निक्सनले राजिनामा दिएपछि फोर्ड अमेरिकाको राष्ट्रपति बने । त्यसपछि फोर्डले राष्ट्रपतिका रुपमा निक्सनले गरेका सबै अपराधका लागि क्षमा समेत दिए । सन् १९७६ को चुनावमा फोर्डलाई पराजित गरेर डेमोक्रेटिक उम्मेदबार जिम्मी कार्टर अमेरिकाको राष्ट्रपति बने ।

जिम्मी कार्टर

जिम्मी कार्टर अमेरिकाका ३९ औं राष्ट्रपति हुन् । उनी १९७६ मा निर्वाचित भएपछि १९७७ देखि १९८१ सम्म राष्ट्रपतिका रुपमा कार्यभार सम्हाले । उनको कार्यकालमा अमेरिका मुद्रास्फीतीजन्य मन्दीबाट पीडित भयो । इरानमा अपहरणमा परेका अमेरिकनको असफल उद्दार त्यसमा थपियो । जसका कारण कार्टरले सन् १९८० को चुनावमा रिपब्लिकन उम्मेदबार रोनाल्ड रेगनसँग पराजय भोग्नुपरेको थियो । कार्टर राष्ट्रपतिको कार्यकालपछि पनि शान्ति स्थापना र कुटनीतिमा सकृय रहे, जसका कारण उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार समेत पाए ।

जर्ज बुस सिनियर

जर्ज बुस सिनियर अमेरिकाका ४१ औं राष्ट्रपति हुन् । उनी सन् २००० मा अमेरिकी राष्ट्रपति हुने जर्ज बुसका पिता हुन् । जर्ज बुस सिनियर १९८८ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि उनले सन् १९८९ देखि १९९३ सम्म कार्यभार सम्हाले । उनको कार्यकालमा नै अमेरिकाको नेतृत्वमा गल्फ युद्ध भयो । सैन्य अभियान सफल भएपनि उनको कार्यकालको अन्त्यमा अमेरिकाको अर्थव्यवस्था खस्कियो । त्यसपछि उनले सन् १९९२ को चुनावमा बिल क्लिन्टनसँग हारे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com