‘हामी जित्दैछौं’ -बाइडेन


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपतिका उम्मेदबार जो बाइडेनले राष्ट्रपति चुनाव आफूले जित्ने दावी गरेका छन् । पेन्सिलभेनिया र जर्जियामा अग्रता कायम भइरहेको बेला बाइडेनले आफूहरुले चुनाव जित्ने निश्चित रहेको बताएका हुन् । बाइडेनले शुक्रबार मध्यराती हुनुभन्दा अगाडि डेलावरमा विशेष सम्बोधन गर्दै थिए ।

बाइडेनले स्पष्ट बहुमतका साथ चुनाव जित्ने दावी गरे । ७४ मिलियन भन्दा धेरै भोट प्राप्त भएको र उक्त भोट अमेरिकाको इतिहासमा कुनै पनि राष्ट्रपतिको उम्मेदबारलाई प्राप्त भन्दा धेरै रहेको उनले बताए । बाइडेनले आफूले राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेकै दिनबाट कोरोना महामारीका सन्दर्भमा तत्काल कदम चाल्ने बताएका छन् ।

ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनिया र जर्जियामा डेमोक्रेटिक राष्ट्रपति उम्मेदबार जो बाइडेनले अग्रता कायम गरेसँगै ह्वाइट हाउस प्रवेशका लागि बाटो फराकिलो भएको छ । दुईमध्ये एउटामात्र राज्य जितेपनि बाइडेन ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

जर्जियामा बाइडेनले जितेको खण्डमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेशको बाटो खुल्नेछ । जर्जिया नजितेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई नर्थ क्यारोलिना, पेन्सिलभेनिया र नेभाडामध्ये एउटा राज्य जित्नुपर्छ ।

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पलाई जीत्न खास गाह्रो छैन । तर नेभाडा सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको राज्य हो ।

अमेरिकी राष्ट्रपति चुनावको अन्तिम विजेता घोषणा गर्न अझै कति समय लाग्ला?

अमेरिकी राष्ट्रपति चुनावको औपचारिक रुपमै अन्तिम विजेता घोषणा गर्न अझै केही दिन, हप्ता वा महिना समेत लाग्नसक्छ । आगामी अवस्था कस्तो हुन्छ भन्ने कुराले समेत यसको निर्धारण गर्नेछ ।

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन । बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ । हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ ।

अधिकांश राज्यमा औपचारिक रुपमा घोषणा नगरिएको भएतापनि चुनावी परिणाम स्पष्ट भइसकेको छ । अमेरिकन मुख्य संचारमाध्यमले मतगणनाको परिणाम, गणना हुन बाँकी मत लगायतका कैयन तत्वहरु हेरेर उम्मेदबारका लागि विजयी राज्यहरुको घोषणा गर्छन् ।

यसपटकको चुनावमा फक्स न्युज र एसोसिएट प्रेसले एरिजोनामा जो बाइडेनलाई विजेता घोषित गरे भने सीएनएन, न्युयोर्क टाइम्स लगाउतले एरिजोनामा अझै विजेता घोषणा गरेका छैनन् । यसरी गरिने प्रोजेक्सनहरु प्राय शतप्रतिशत सत्य नै हुन्छन् । सन् २०१६ को चुनावमा चुनाव भएकै राती साढे २ बजे ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा विजेता घोषणा गरिएको थियो ।

यसपटक कोरोनाको महामारीका कारण कुल मतदानको ६८ प्रतिशतभन्दा धेरै अग्रिम र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरियो । व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानको नतिजा छिटो निकाल्न सम्भव हुने भएपनि हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानको नतिजा निकाल्नमा समय लागिरहेको छ ।

हुलाकबाट प्राप्त मतपत्रमा सुरुमा खाम खोलेर सुरुमा साक्षी र मतदाताको हस्ताक्षर भए नभएको चेक गर्नुपर्छ । त्यसपछि ठेगाना चेक गर्नुका साथै उक्त मतदाताले चुनावको दिन वा अग्रिम मतदानमा पनि उपस्थीत भएर मतदान गरे नगरेको चेक गर्नुपर्छ । त्यसपछिमात्र योग्य मतपत्रलाई स्क्यान मेसिनमा हालेर गणना गरिन्छ । यो सबै गर्दा झन्झटिलो भएकाले हुलाकबाट प्राप्त मतहरु गणनामा लामो समय लागेको हो ।

अहिलेसम्म ५ वटा राज्यहरुमा विजेता घोषणा गर्न बाँकी रहेको छ । अलास्का, जर्जिया, नेभाडा, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा विजेता घोषणा गर्न बाँकी रहेको हो । अलास्काको अन्तिम परिणाम आउन सप्ताहन्त कुनुपर्ने हुनसक्छ । त्यहाँ ट्रम्पले लिड गरिरहेका छन् ।

नेभाडामा पनि  बाइडेनले लिड गरिरहेका छन् । नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । जसको अर्थ यो सप्ताहन्तभर त्यहाँ मतगणना हुनेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । पेन्सिलभेनियामा पनि आजसम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ ।

अमेरिकाका झण्डै आधाजति राज्यहरुले नोभेम्बर ३ को पोष्टमार्क गरेर पठाइएका तर नोभेम्बर ३ पछि पनि हुलाकबाट प्राप्त भएका मतहरु गणना गर्छन् । कतिपयले हुलाकमार्फत मतपत्र मगाएपनि अग्रिम मतदानमा समेत सहभागी भएर अस्थायी मतदान समेत गरेका छन् । यस्ता मतहरु गणना गर्दा एउटै मत दुईपटक गणना नहुने सुनिश्चित गर्न सावधानी अपनाउनुपर्छ ।

सन् २००० को चुनावमा फ्लोरिडामा एल गोरले झण्डै ५ सय मतलेमात्र चुनाव हारे । त्यहाँ झण्डै ६० लाखले मतदान गरेका थिए । पछि यो मामला सर्वोच्च अदालतसम्म पुगेपछि अदालतले जर्ज डब्लु बुसलाई विजेता घोषणा गरेको थियो । यसपटकको चुनावमा पनि ३ सय भन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । मुद्दा मामलाका कारण कतिपय राज्यमा विजेता घोषण गर्नमा लामो समय पनि लाग्न सक्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com