अरुले गर्छन् कुरा, हामीले गछौं पूरा : नयाँ शक्ति


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

नयाँ शक्ति पार्टीले घोषित स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा नयाँ शक्तिले ‘अरुले गर्छन् कुरा, हामीले गछौं पूरा’ भन्ने मूल नारासहित आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराई, सहसंयोजक रामचन्द्र झा, दुर्गा सोव, देवेन्द्र पौडेल, परशुराम तामाङ, परशुराम खापुङ, केशव दाहाल, रामकुमार शर्मा, सबिना अर्याललगायतका केन्द्रीय नेताहरुले नयाँ शक्तिको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरिएका विषयवस्तुहरुलाई संक्षिप्तमा प्रस्तुत गर्दै संयोजक डा बाबुराम भट्टराईले क्रान्तिको भोलिपल्टदेखि नै प्रतिक्रान्तिको शुरुवात हुने भन्दै पुराना राज्यको नराम्रा कुराहरुलाई लिएर दलहरु अघि बढेकोले आफूहरु त्यसको विकल्पको रुपमा आएको बताउनुभयो ।

उहाँले सरकार स्वेच्छाचारी तरिकाले अघि बढेको उल्लेख गर्दै छापामार शैलिमा प्रहरी अधिकृतदेखि प्रधानन्यायधीश माथि महाअभियोग लगाउने प्रकरणले सरकार प्रतिक्रान्तिकित्ता कित्तामा बदलिएको बताउनुभयो ।

नयाँ शक्तिले विकास र समृद्धिको स्पष्ट खाका पेश गर्दै विश्वमा चौथो चरणको औद्योगिकरणको व्यापक चर्चा भइरहेको बेला नेपालमा भने पहिलो चरणको पनि औद्योगिक क्रान्ति नभएकोमा चिन्ता व्यक्त गर्दै नेता भट्टराईले देशको विकास र समृद्धि हासिल गर्न हवाइजहाज टेक अफको गतिमा अघि बढ्नु पर्ने बताउनु भयो ।

स्थानीय निकायको विकास र समृद्धिलाई लक्षित गरिएका कार्यक्रमहरु घोषणापत्रमा समावेश गरिएको छ । स्मार्ट नगरपालिका र गाउँपालिकाको अवधारणा अगाडि सारेको नयाँ शक्तिले बासिन्दा, पूर्वाधार, अर्थतन्त्र, स्थानीय, समाज र जीवनपद्धति समेतलाई स्मार्ट बनाउने स्पष्ट खाका प्रतिवद्धता पत्रमा छ ।

पत्रकारहरुको जिज्ञासा सम्बोधन गर्दै संयोजक भट्टराईले नयाँ शक्ति चुनावको लागि जुनसुकै बेला तयार रहेको तर, पछिल्ला घटनाक्रमले संविधान संशोधन छायाँमा परेको उल्लेख गर्दै त्यसले चुनावलाई प्रभाव पार्नसक्ने बताउनुभयो ।

उहाँले पुराना पार्टीहरुले देशलाई असफलतातिर धकेलिरहेको तर्क गर्दै भन्नुभयो, ‘पुराना पार्टीहरुले कसरी देशलाई असफल देशतिर लैजान प्रयत्न गरिहेका छन, राज्यका संरचनाहरु कसरी ध्वस्त गरिहेका छन भन्ने कुराको पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’ उहाँले पछिल्लो घटनाक्रमले आफूहरुले प्रक्षेपण गरेको कुरा पुष्टिगरेको उल्लेख गर्नुभयो ।

नयाँ शक्तिले विकास र समृद्धिलाई नै केन्द्रमा राखेर अघि बढेको बताउँदै उहाँले भन्नुभयो, ‘विकास भनेको बहुआयामिक हुन्छ र अन्तरसम्वन्धित हुन्छ, नेपाल संघीयतामा गइसकेपछि तीन तहकै काम कारवाही र विकास प्रक्रिया अन्तरसम्वन्धित हुन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com