फ्लोरिडामा ट्रम्प विजयी
प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार
ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा डोनाल्ड ट्रम्प विजयी भएका छन् ।९८ प्रतिशत मत परिणाम आउँदा ट्रम्पले ५६ लाख २८ हजार भन्दा धेरै मत ल्याएका छन् । जो बाइडेनले झण्डै ५२ लाख ४४ हजार मत प्राप्त गरेका छन् ।
फ्लोरिडाबाट २९ इलेक्टोरल कलेज मत प्राप्त हुन्छ । अर्को ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनियामा पनि ट्रम्प अगाडि देखिएका छन् । पेन्सिलभेनियाबाट २० इलेक्टोरल कलेज मत प्राप्त हुन्छ ।
अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले २०७ इलेक्टोलर मत जीतेका छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।
त्यस्तै अहिलेसम्मको मत परिणाम अनुशार डोनाल्ड ट्रम्पले १४८ इलेक्टोलर मत जीतेका छन् ।
अब सबैको ध्यान टेक्सास, पेन्सिलभेनिया, एरिजोना लगायतका राज्यतिर केन्द्रीत भइरहेको छ ।
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।
५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।