अमेरिकामा राष्ट्रपति चुनाव भोलि, सबैको ध्यान यी ६ ब्याटलग्राउण्ड राज्यमा


प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार

अमेरिकामा भोलि नोभेम्बर ३ अमेरिकी राष्ट्रपति चुनावको मुख्य दिन हो । अमेरिकाभर चुनाव हुने भएपनि सबैको ध्यान भने ६ वटा मुख्य ब्याटलग्राउण्ड राज्यहरुमा रहेको छ ।

एरिजोना, फ्लोरिडा, मिसिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विसकन्सिनले सबैको ध्यानाकर्षण गरिरहेका छन् । चेन्ज रिसर्च र सीएनबीसीका पछिल्ला पोलमा यी ६ वटै राज्यमा राष्ट्रपति उम्मेदबार जो बाइडेन झिनो रुपमा अगाडि रहेका छन् । यी सबै राज्यमा सन् २०१६ को चुनावमा डोनाल्ड ट्रम्पले जितेका थिए ।

एरिजोनाबाट ११ , फ्लोरिडाबाट २९ , मिसिगनबाट १६ , नर्थ क्यारोलिनाबाट १५, पेन्सिलभेनियाबाट २० र विसकन्सिनबाट १० इलेक्टोरल मत प्राप्त हुन्छ । अमेरिकामा राष्ट्रपति पदमा जित्न कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

फ्लोरिडामा अहिलेसम्म ८९ लाख ७४ हजारले मतदान गरिसकेका छन् । जुन कुल मतदाता संख्याको ६३ दशमलव ८ प्रतिशत हो । मतदान गरेकाहरुमध्ये सबैभन्दा धेरै डेमोक्र्याट्सहरु ३५ लाख रहेका छन् । रिपब्लिकनहरु ३४ लाख रहेका छन् । तर कुनै पार्टीमा आवद्ध नरहेका १९ लाखले निर्णायक भूमिका खेल्नेछन् ।

यसपटक कोरोनाको महामारीका कारण कैयनले अग्रिम मतदान र हुलाकमार्फत मतदान गरेका कारण चुनावको नतिजा मंगलबार नै आउने छैन । पूर्ण नतिजा आउन केही दिन लाग्ने भएपनि मंगलबारदेखि नतिजाको छनक भने आउन थाल्नेछ ।

नतिजा नआएपनि ट्रम्पले मंगलबार बेलुका नै अपरिपक्व विजय घोषणा गर्ने तयारी गरेको कतिपय अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । तर ट्रम्पले भने यस्तो कुरा अस्वीकार गरेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com