न्युयोर्कका अग्रिम मतदानमा कतिले हाले मत? नोभेम्बर ३ मा न्युयोर्कमा मतदान गर्नेले जान्नुपर्ने कुरा
प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार
न्युयोर्कमा हुलाकमार्फत र मतदानस्थलमा उपस्थीत भएर ३३ लाख ५५ हजार ३७ जनाले मतदान गरेका छन् । जसमध्ये अक्टोबर २४ देखि नोभेम्बर १ सम्मको अग्रिम मतदानमा मतदानस्थलमा नै उपस्थीत भएर २५ लाख ७ हजार र ३ सय ४१ जनाले र हुलाकमार्फत ८ लाख ४२ हजार ६ सय ९६ जनाले मतदान गरेका छन् ।
अक्टोबर २४ देखि नोभेम्बर १ सम्मको अग्रिम मतदानमा मतदानस्थलमा नै उपस्थीत भएर मतदान गर्नेमा झण्डै ५० प्रतिशत न्युयोर्क सिटी निवासी रहेका छन् ।
न्युयोर्क सिटी निवासी ११ लाख १९ हजार ५६ जनाले मतदानस्थलमा उपस्थीत भएर अग्रिम मतदान गरेका छन् । जसमध्ये ब्रोंक्समा १ लाख ५३ हजार ७९ जनाले, ब्रुकलिनमा ३ लाख ७३ हजार २ सय ७० जनाले, क्वीन्समा २ लाख ५० हजार ८३ जनाले, म्यानहटनमा २ लाख ३८ हजार ५ सय ८१ जनाले र स्टेटन आइल्याण्डमा १ लाख ४ हजार ४३ जनाले मतदान गरेका छन् ।
NYC Early Voting 2020 is Complete!!!! Manhattan 238,581
Bronx 153,079
Brooklyn 373,270
Queens 250,083
Staten Island 104,043 Cumulative Check-Ins 1,119,056 Thank you NYC ????— NYCBoardOfElections (@BOENYC) November 1, 2020
न्युयोर्कमा आफ्नो नाम मतदाता नामावलीमा रहे नरहेको थाहा पाउन यहाँ क्लीक गर्नुहोस् ।
आफूले मतदान गर्नुपर्ने मतदानस्थल थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।
नोभेम्बर ३ मा न्युयोर्कमा मतदान गर्नेहरुले जान्नुपर्ने ११ प्रश्नोत्तर
(नोट: यो न्युयोर्क सिटी अफिस अफ इमिग्रेशन अफेयर्सले नेपाली भाषामा अनुवाद गरेर खसोखासलाई उपलब्ध गराएको सामाग्री हो ।)
सधैं झै, नामावलीमा दर्ता भएका सबै मतदाताहरू आफै आएर नोभेम्बर 3 मा मतदान गर्न सक्छन् । यदि तपाईं भीडभाडका बारेमा चिन्तित हुनुहुन्छ भने तपाईं पहिले नै मतदान गर्ने बारेमा सोचविचार गर्न सक्नुहुनेछ । निर्वाचनको दिनमा आफ्नो मतदान स्थल यहाँ पत्ता लगाउनुहोस् ।
मतपत्रमा के छ ?
मतपत्रमा सङ्घीय, राज्य तथा स्थानीय प्रतिस्पर्धाहरू छन्:
● राष्ट्रपति
● कंग्रेस
● क्विन्स बोरो अध्यक्ष
● स्टेट सिनेट
● स्टेट एसेम्बली
● NYC काउन्सिल डिस्ट्रिक्ट
● NYS सर्वोच्च अदालत
● NYC देवानी (सिभिल) अदालतहरू
के आफै आएर मतदान गर्न सुरक्षित हुन्छ ?
विशेषगरी यदि तपाईंले तपाईंको मतदान केन्द्र कम व्यस्त भएको समय (सामान्यतया मध्य-बिहान वा दिउँसो अलि चाँडो) मा जाने रोज्नुभएमा तपाईंले Core 4 लाई पालना गर्दासम्म आफै आएर मतदान गर्न सुरक्षित हुन्छ । यदि तपाईंले सक्नुहुन्छ भने भीडभाडबाट बच्नका लागि पूर्व मतदानको फाइदा उठाउनुहोस् ।
मतदान गर्दा सुरक्षित रहनका लागि मैले के-के उपायहरू अपनाउन सक्छु ?
मुख छोप्ने कपडा लगाउनुहोस् ! सबै मतदान स्थलहरूमा प्रवेश गर्नका लागि मुख छोप्ने कपडाहरू अनिवार्य हुन्छन् । तपाईं वरिपरि रहेकाहरूलाई सुरक्षित राख्नुहोस् र मुख छोप्ने कपडालाई सही तरिकाले (आफ्नो नाक तथा मुखमाथि) लगाउनुहोस् ।
भौतिक दुरीको अभ्यास गर्नुहोस् ! मतदान स्थलहरूलाई भौतिक दुरी लागू गर्नेगरी तयार गरिनेछ । निर्देशनहरूलाई पालना गर्नुहोस् र आफ्नो मतदान स्थलमा हुँदा अरूहरूबाट कम्तीमा पनि 6 फिट टाढा रहनुहोस् ।
हातको स्वस्थ सरसफाइको भ्यास गर्नुहोस् ! मतदान स्थलहरूले ह्यान्ड स्यानिटाइजर उपलब्ध गराउनेछन् र तपाईंले पनि आफ्नै साथमा ल्याउन सक्नुहुन्छ । कुनै पनि साझा सतहहरूलाई छुनुभन्दा अगाडि र छोएपछि ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुहोस् र तपाईं घर पुगेपछि तत्कालै साबुन तथा पानीले आफ्नो हातहरू धुनुहोस् । नधोइएका हातहरूले आफ्नो अनुहारलाई छुनबाट बच्नुहोस् ।
यदि तपाईं बिरामी भएमा घरमै रहनुहोस् ! मतदान गर्नु महत्त्वपूर्ण हुन्छ तर आफ्नो घरभन्दा बाहिर निक्लनुभन्दा पहिले तपाईंलाई सञ्चो हुन र अरूहरूलाई बिरामी पर्नबाट रोक्नमा मद्दत गर्नका लागि तपाईंले आवश्यक कदमहरू चाल्न अझ बढी महत्त्वपूर्ण हुन्छ ।
मेरो समुदायमा COVID-19 का दरहरू उच्च छन् । के मेरो नेबरहुडमा आफै गएर मतदान गर्न सुरक्षित हुन्छ ?
● तपाईंको समुदायमा COVID का दरहरू जतिसुकै भए तापनि मतदान जतिसक्दो सुरक्षित होस् भनेर सुनिश्चित गर्नका लागि मतदान स्थलहरूमा सुरक्षा सावधानीहरू अपनाइएका हुनेछन् ।
● यदि तपाईं गम्भीर COVID सङ्क्रमणको जोखिममा हुनुहुन्छ (वृद्धवृद्धा, रोग प्रतिरोधात्मक शक्ति कम भएको वा गर्भवती) भने निर्वाचनको दिनमा कुनै पनि भीडभाडहरूबाट बच्नका निम्ति पूर्व मतदानको फाइदा लिने बारेमा सोचविचार गर्नुहोस् ।
मैले निर्वाचनको दिनमा मतदान गर्न चाहेमा मैले कसरी मतदान गर्नुपर्छ ?
यदि तपाईं दर्ता गराउनुभएको मतदाता हुनुहुन्छ भने निर्वाचनको दिनमा तपाईं आफ्नो मतदान स्थलमा बिहान 6 बजेदेखि साँझ 9 बजेसम्म गएर आफ्नो मत हाल्न सक्नुहुन्छ । आफ्नो मतदान स्थलको ठेगाना जाँच गर्नुभएको छ भनेर सुनिश्चित गर्नुहोस् !
निर्वाचनको दिनमा मैले कहाँ र कहिले मतदान गर्न सक्छु ?
तपाईंले निर्वाचनको दिनको आफ्नो मतदान स्थल यहाँ पत्ता लगाउन सक्नुहुन्छ । मतदान स्थलहरू बिहानको 6:00 बजेदेखि साँझको 9:00 बजेसम्म खुला रहन्छन् । यदि तपाईं न्यूयोर्क सिटीमा बस्नुहुन्छ र अगाडि नै आफ्नो मतपत्र हेर्न चाहनुहुन्छ भने findmypollsite.vote.nyc मा जानुहोस् ।
यदि मैले अनुपस्थिति मतपत्र अनुरोध गरेको भए तापनि के मैले आफै आएर मतदान गर्न सक्छु ?
सक्नुहुन्छ । यदि कुनै मतदाताले अनुपस्थिति मतपत्र अनुरोध गरेको भएमा वा अनुपस्थिति मतपत्रलाई हुलाकमार्फत पठाइसकेको भएता पनि न्यूयोर्कको कानुनले सो मतदातालाई आफै आएर (आफ्नो तोकिएको मतदान स्थलमा) मत दिन अनुमति प्रदान गर्छ । यो किन हुन्छ भने कुनै पनि अनुपस्थिति मतपत्रलाई गणना गर्नुभन्दा पहिले CBOE कर्मचारीहरूको द्विदलीय टोलीले उम्मेदवारहरू, राजनीतिक दलहरू र उपस्थित प्रेसका प्रतिनिधिहरूका साथ पारदर्शी प्रक्रियामा सो मतपत्रले NYS को निर्वाचनसम्बन्धी कानुनका मापदण्डहरूलाई पूरा गरेको छ कि छैन भनेर निर्धारण गर्छ । उनीहरूले सबैभन्दा पहिला जाँच गर्ने कुराहरू मध्येको एक भनेको सो व्यक्तिले आफै आएर मतदान गरेका छन् कि छैनन् । यदि त्यसो भएको छ भने अनुपस्थिति मतपत्रलाई अलग राखिन्छ र त्यसलाई गणना गरिँदैन ।
के मैले साथमा परिचयपत्र लिएर आउनुपर्छ ?
एक परिस्थितिमा बाहेक न्यूयोर्कले मतदान गर्दा मतदाताहरूलाई परिचय खुल्ने कागजपत्र देखाउन आवश्यक गराउँदैन । यदि तपाईंले पहिलोपटक मतदान गर्दै हुनुहुन्छ र तपाईंले मतदान गर्नका लागि आफै आएर दर्ता गर्नुभएको थिएन (अर्थात्, तपाईंले अनलाइन वा हुलाकमार्फत दर्ता गराउनुभएको थियो) भने तपाईंलाई तपाईंले मतदान गर्ने पहिलोपटकमा मात्र परिचयपत्र देखाउन भन्न सकिनेछ । तपाईंके देहायका परिचयपत्र प्रयोग गर्न सक्नुहुनेछ: सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वा सरकारद्वारा जारी गरिएको अन्य परिचयपत्र, युटिलिटी (विद्युत, पानी वा ग्यास) को अहिलेको बिल, बैंक विवरण, पेचेक, सरकारी चेक वा तपाईंको नाम तथा ठेगाना देखाउने अन्य सरकारी कागजपत्र ।
यदि म आफै आएर मतदान गर्न चाहन्छु तर कागजी मतपत्र भर्नका लागि पेनलाई प्रयोग गर्न सक्दिन भने के मसँग कुनै विकल्प हुन्छ ?
हुन्छ, तपाईंले तपाईंलाई सहयोग गर्नका लागि कसैलाई साथमा ल्याउन सक्नुहुन्छ, तपाईंले मतदान कर्मचारीहरूबाट सहयोग अनुरोध गर्न सक्नुहुन्छ वा तपाईंले मतदान स्थलमा आफ्नो मतपत्रमा चिन्ह लगाउनका लागि ब्यालट मार्किङ डिभाइस (Ballot Marking Device, BMD) प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि, तपाईंलाई सहयोग गर्ने व्यक्ति तपाईंको रोजगारदाता वा तपाईंको युनियन प्रतिनिधि मध्ये कोही हुनुहुँदैन ।
ब्यालट मार्किङ डिभाइस के हो ?
BMD पनि भनिने ब्यालट मार्किङ डिभाइस तपाईंको कागजी मतपत्रमा चिन्ह लगाउनमा तपाईंलाई सहयोग गर्न सक्ने उपकरण हो र त्यसलाई मतदाताहरूलाई उनीहरूको मतदान स्थलमा गोपनीयता तथा पहुँचयुक्तता उपलब्ध गराउनेगरी तयार गरिएको छ ।
के मैले ब्यालट मार्किङ डिभाइसलाई प्रयोग गर्न सक्छु ?
सक्नुहुन्छ । अपाङ्गताहरू भएका मतदाताहरू सहित सबै मतदाताहरूसँग आफ्नो मतपत्रमा चिन्ह लगाउनका लागि ब्यालट मार्किङ डिभाइसलाई प्रयोग गर्ने अधिकार हुन्छ । BMD लाई कागजी मतपत्रमा चिन्ह लगाउनमा मात्र प्रयोग गरिन्छ; आफ्नो मत हाल्नका लागि तपाईंले गणना उपकरणमा चिन्ह लगाइएको मतपत्रलाई स्क्यान गर्न आवश्यक हुन्छ । मतदान स्थल कर्मचारीहरूले मतदाताहरूलाई BMD हरू प्रयोग गर्नमा मद्दत गर्न सक्छन् ।