अमेरिकामा हेलोवीन मनाइदै, यस्ता छन् हेलोवीन सुरु हुनुका रोचक कथा


प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार

अमेरिकामा  हेलोवीन पर्व मनाइदै छ । भूतको परिधानमा सजिएर बालबालिकादेखि बुढापाकासम्मले हेलोवीन मनाउँदैछन् । हेलोवीन पर्व अमेरिका, बेलायत, आरल्याण्ड, फ्रान्स लगायतका देशमा प्रचलित छ । यो पर्व हरेकवर्ष अक्टोबर ३१ मा मनाइन्छ ।

झण्डै २ हजार वर्ष अगाडि बेलायतमा बस्ने एउटा जातिले आधुनिक पात्रो अनुसार नोभेम्बर १ तारिखमा नयां वर्ष मनाउने गथ्र्यो । त्यसको अघिल्लो दिन अक्टोबर ३१ का दिनमा मनाइने यो नयां वर्ष वडो विचित्रको थियो । समरको अन्त्य, अन्नबाली स्याहार्ने समयको अन्त्य र एउटा लामो र कठिन जाडोको सुरुवातका रुपमा यो नयां वर्ष मनाउने गरिन्थ्यो ।

किनभने हिमपात हुने जाडोको समयमा खानाको अभावमा समेत कैयन जनावर र मानिसको मृत्यु हुने गथ्र्यो । जाडोको समयमा बाच्न नसक्ने कमजोर प्राणीहरु मारिन्थ्यो र जाडोको समयमा खाने गरिन्थ्यो । त्यसैले यही निर्दयी समयको आगमन संगै मृतात्मा र जिवितहरुबीचको पर्खाल खुल्ला भएको मान्यता राखिन्थ्यो ।

आत्मा र भूतहरुबीचकोमात्र होइन, खराब र असलको मिश्रणका लागि पनि बाटो खुल्ला भएको मान्यता राखिन्थ्यो । मान्छेको कष्ट देखेर मृतात्माहरु रमाउने गरेको मान्यता राखिन्थ्यो । त्यतीबेलादेखि तिनै भूतहरुको सम्झनामा र मारिनेहरुको सम्झनामा भूतजात्रा निकालिने गरेको विश्वास रहेको छ । अर्कातर्फ त्यतीबेला खानाको अभावमा मारिनेहरुको आत्मालाई खुवाउन भूतको जात्रा निकालिने प्रचलन सुरु भएको मान्यता छ ।

अर्कातर्फ जिवित मान्छेलाई लिनका लागि मृतात्माहरु आउने भन्दै भूतलाई भगाउनका लागि भूतजस्तै बनेर हल्लाखोर मच्चाउने र सक्कलीभूतलाई भगाउने किम्बदन्तीपनि भूतजात्रासंग जोडिएको छ । अर्कातर्फ भूतजात्राको अवशरमा भूतजस्तै बनेर मान्छेहरु घरघरमा खाना माग्न जाने प्रचलन रहेको छ । मान्छेहरुको भोकले मर्ने गरेको कथासंग यो परम्परा जोडिएको छ ।

वर्षभरी मरेकाहरुको आत्माको सम्मान र मुक्तिका लागि पनि भूतजात्रा निकालिने प्रचलन रहेको बताइन्छ । धेरै मान्छेले मरेकाहरुको लागि प्राथना गरेको खण्डमा उनीहरुका लागि स्वर्गको ढोका खुल्ने समेत जनविश्वास रहेको छ । भूतजात्राको बेलामा कालाबिराला र चमेराहरुको स्वरुपमा समेत भूत बनाइन्छ । अन्धविश्वास अनुसार कालाबिरालालाई शैतानको रुपमा हेर्ने प्रचलन छ । मध्ययुगमा यस्ता हजारौं कालाबिरालाहरु मारिएको थियो । त्यसैले शैतानको रुपमा यस्ता भूतहरु अहिलेपनि भूतजात्रामा प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

नोभेम्बर १ तारिखको दिन निकालिने भूतजात्रामा ज्यान गुमाएका बच्चाको सम्मान र नोभेम्बर २ मा निकालिने भूतजात्रामा ज्यान गुमाएका जवानहरुको सम्मान गर्ने प्रचलन रहदै आएको छ । यो भूतजात्रालाई मृतकहरुको दिवसका रुपमा समेत मनाइन्छ । भूतात्माहरुले आफ्नो घरमा फर्केर आफन्तहरुलाई भेट्ने विश्वास कायम रहेकाले पुर्खाको सम्मानमा भूतका आकृति बनाएर घरघरमा राख्ने प्रचलन छ ।

भूतात्माहरुलाई आफ्नो घर फेलापार्न सजिलो होस् भनेर ज्यान गुमाएकाहरुले प्रयोग गर्ने सामानहरु घरबाहिर छरेर राख्ने प्रचलन समेत रहेको छ यो भुतजात्राका बेलामा । त्यसैगरी यो भूतजात्रासंग अर्को एउटा किम्बदन्ती पनि जोडिएको छ ।

परापूर्वकालमा भूतहरु गाउमा पसेर बच्चाहरु खान थालेपछि गाउका मान्छेहरु सक्कलीभूतभन्दा अझ डरलाग्दा नक्कलीभूत बनेर सक्कलीभूतलाई भगाएको कथा पनि यो जात्रासंग जोडिएको छ । कथा र परम्परा जेसुकै भएपनि आधुनिक युवायुवतीहरुले भने यो भूतजात्रालाई रमाइलोको जात्राका रुपमा लिने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com