अमेरिकी राष्ट्रपति चुन्नमा यसरी आफ्नो मताधिकार प्रयोग गर्दैछन् न्युयोर्कका नेपाली अमेरिकन


प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार

२०१६ को राष्ट्रपति चुनावमा मतदानपछि मनमोहन सिंह घिमिरे ।

– किशोर पन्थी

विश्व शाह न्युयोर्कको क्वीन्स कोरोनामा बस्दै आएका नेपाली अमेरिकन हुन् । उनले यसपटक अमेरिकी राष्ट्रपति चुनावमा तेश्रो पटक मतदान गर्दैछन् । चुनावकै दिन मतदानस्थलमा गएर मतदान गर्ने उनको योजना रहेको छ ।

त्यस्तै न्युयोर्कको रिजउडमा बस्दै आएका मनमोहन सिंह घिमिरेले पनि चुनावकै दिनमा मतदान गर्ने योजना बनाएका छन् । चुनावकै दिनलाई उत्सवका रुपमा मनाउनका लागि उनले मतदानका लागि त्यही दिन नै रोजेका हुन् ।

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा बस्दै आएका नवराज केसीले पनि चुनावकै दिनमा मतदानस्थल गएर मतदान गर्ने योजना बनाएका छन् । घर नजिकै रहेको मतदानस्थलमा नै गएर आफूले रोजेको उम्मेदवारलाई मतदान गर्ने उनको योजना छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको क्वीन्स कोरोनामा बस्दै आएका पुरुषोत्तम पन्थी पनि यसपटकको राष्ट्रपति चुनावमा मतदानका लागि निकै उत्साहित छन् । राष्ट्रपति चुनावमा पहिलोपटक मतदान गर्दै गरेका उनले पनि चुनावकै दिनमा मतदानस्थलमा गएर मतदान गर्ने योजना बनाएका छन् ।

यसरी न्युयोर्कको क्वीन्समा बस्ने नेपालीहरुले यसपटकको राष्ट्रपति चुनावमा मतदान गर्दैछन् । कतिपय नेपालीहरुले हुलाकबाट मतपत्र पठाएर मतदान गरिसकेका छन् भने कतिपयले अर्लि भोटिङमा सहभागी भएर मतदान गर्ने योजना बनाएका छन् । तर अधिकांशको भने चुनावकै दिनमा मतदानस्थलमा गएर मतदान गर्ने योजना रहेको छ ।

न्युयोर्कमा नेपालीहरुको संख्या बढ्दै जाँदा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या पनि बढ्दै गइरहेको छ । न्युयोर्कमा झण्डै साढे ७ हजार नेपालीहरु अमेरिकी चुनावमा मतदानका लागि योग्य रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

अमेरिकाभर झण्डै ५० हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । त्यसमध्ये झण्डै १५ प्रतिशत नेपालीहरु न्युयोर्क निवासी रहेका छन् ।

नेपाली अमेरिकनहरु अल्पसंख्यक समुदायहरु रहेपनि राष्ट्रपति चुनावमा सकृयताका साथ सहभागिता जनाउँदैछन् । अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकनको चासो र सहभागिता विगतका बर्षहरुमा बढ्दै गइरहेको छ । चुनावमा उम्मेदवारी दिनेमात्र होइन, चुनाव जितेर इतिहास कायम गर्ने काम समेत नेपाली अमेरिकनले सुरु गरेका छन् ।

अहिलेसम्म अमेरिकाको मुलधारको राजनीतिमा सबैभन्दा उच्च पदमा चुनाव जितेका नेपाली अमेरिकन ह्यारी भण्डारी हुन् । उनी मेरिल्याण्डको हाउस अफ डेलिगेट्सका सदस्य हुन् । त्यस्तै न्यु ह्याम्पशायरमा नेपाली अमेरिकन मदलसा गुरुङले यसपटकको चुनावमा राज्य संसदका लागि उम्मेदवारी दिएकी छिन् ।

२०१६ को राष्ट्रपति चुनावमा मतदानपछि विश्व शाह ।

अमेरिकन राजनीतिमा नेपाली मुलका अमेरिकनहरुको पनि सकृय सहभागिताको सन्देश दिनका लागि पनि मतदानमा सहभागी हुनुपर्ने नेपाली अमेरिकन मतदाताहरु बताउँछन् । तीमध्येका एक विश्व शाह भन्छन् –‘अल्पसंख्यकको पनि अमेरिकी राजनीतिक प्रकृयामा सकृय सहभागिता हुनुपर्छ । मतदानलाई आफ्नो अधिकार र कर्तब्यका रुपमा लिनुपर्छ । एउटामात्र भोट दिंदा पनि यसको गणना हुन्छ । अल्पसंख्यकको पनि अमेरिकी राजनीतिक प्रकृयामा सकृय सहभागिता हुनुपर्ने सन्देश दिनका लागि मतदान गर्दैछु ।’

श्रीमति र दुईवटा बच्चाहरुसहित बस्दै क्वीन्समा आएका नवराज केसीले अहिलेसम्म प्राइमरीसमेत जोड्दा अमेरिकी चुनावमा १४ पटकभन्दा बढी मतदान गरिसकेका छन् । राष्ट्रपति चुनावमा भने दोश्रो पटक मतदान गर्दैछन् । उनी भन्छन् –‘यसपटकको चुनावको महत्व अझ विशेष छ । त्यसैले यसपटक मतदानका लागि निकै उत्साहित छु ।’

चुनावी अभियानका क्रममा हाउस स्पीकर न्यान्सी पेलोसीसँग नवराज केसी ।

यसपटकको अमेरिकी राष्ट्रपति चुनावमा मतदान टर्नओभर शताब्दीकै सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । नेपाली अमेरिकनहरु पनि यसपटकको चुनावमा विगतका चुनावहरुका तुलनामा बढी उत्साहित देखिन्छन् । नेपाली अमेरिकन पुरुषोत्तम पन्थी भन्छन् –‘आफ्नो मताधिकारको प्रयोग संसारको विकशित र शक्तिशाली देशको राष्ट्रपति चुन्नका लागि प्रयोग गर्न पाएकोमा उत्साहित छु । यो आफ्नो अधिकारको प्रयोग र कर्तब्य हो । त्यसैले चुनावमा कस्ले हार्छ वा जित्छ भन्दा पनि मताधिकारको प्रयोग गर्नुपर्छ ।’

‘अल्पसंख्यक भएपनि राजनीतिक प्रकृया सहभागी हुनुपर्छ । चुनाव अल्पसंख्यकलाई अगाडि आउनसक्ने बाटो पनि हो । मतदानमा सहभागी हुँदा अल्पसंख्यक समुदायका समस्या समाधानका लागि राजनीतिज्ञहरुको चासो बढ्छ । अल्पसंख्यकहरु पनि नेतृत्वमा आउनसक्छन् । अल्पसंख्यक भएपनि अँध्यारो ठाउमा बत्ति बालेर अगाडि बढ्नसक्ने र अझ फड्कोमार्नसक्ने सम्भावना रहन्छ ।’ पन्थी भन्छन् ।

अमेरिकी संसदको प्रतिनिधिसभा सदस्य अलेक्जेन्ड्रिया ओकासियो कोर्तेजका साथमा पुरुषोत्तम पन्थी ।

त्यस्तै नेपाली अमेरिकन मनमोहन सिंह घिमिरेले मतदान गर्न पाउनु आफ्नो अधिकार रहेको र आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारको आफूले भरपुर प्रयोग गर्ने बताउँछन् । मतदान प्रजातन्त्रको कडी र अधिकार भएकाले यो अधिकारको सदुपयोग गर्नु सबैको कर्तब्य भएको बताउँछन् उनी ।

‘अल्पसंख्यकको पनि मत गणना हुन्छ । अल्पसंख्यक समुदायको पनि राजनीतिक प्रकृयामा उपस्थीति देखिन्छ । हामी गणना भएका छौं भनेर हाम्रो आवाज बुलन्द हुनेछ । नेताहरुलाई पनि नेपाली अमेरिकन मतदाता पनि छन् हामी भोट माग्न जानुपर्छ, भन्ने चासो बढ्छ ।’ घिमिरे भन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com