अमेरिकी राष्ट्रपतिको चुनाव आउन १२ दिनमात्र बाँकी, अन्तिम बहस आज


प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपतिको चुनाव आउन १२ दिनमात्र बाँकी रहँदा आज दुई राष्ट्रपति उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडेनबीच अन्तिम राष्ट्रपतीय बहस हुँदैछ । आज बेलुका ९ बजे टेनेसीको नासभिलमा सुरु हुने उक्त बसहको संचालन क्रिस्चेन वेल्करले गर्नेछिन् ।

आजको बहसमा हरेक १५ मिनेटको भागमा उम्मेदवारलाई सुरुमा बोल्न छुट्टाइएको २ मिनेटको अवधिमा जसलाई बोल्न समय दिइएको हो, त्यो उम्मेदवारमात्र बोल्न पाउनेछन् । अर्को उम्मेदवारको माइक त्यो बेलामा बन्द गरिने भएको छ । त्यस्तै तोकिएको समय पूरा भएपछि बोलेको खण्डमा पनि माइक अफ गर्न सकिनेछ ।

सुरुमा दुई दुई मिनेट बोलेपछि भने बाँकी १० मिनेटको अवधिमा दुबै उम्मेदवारहरुले एकअर्कालाई क्रस गरेर पनि बोल्न सक्नेछन् । अघिल्लो बहसहरुमा सुरुमा दिइएको दुईदुई मिनेटको अवधिमा समेत एकले अर्कालाई अवरोध गरेपछि माइक अफ गर्ने नियम ल्याइएको हो ।

आजको बहसमा दुबै उम्मेदवारहरुलाई अमेरिकी जनतासमक्ष आफ्ना नीतिहरु स्पष्ट पार्ने मौका मिल्नेछ । कोरोनाको महामारीदेखि जो बाइडेनका छोरा हन्टर बाइडेनको विषयले समेत आजको बहसमा प्रवेश पाउनेछ । आजको बहस पनि अमेरिकामा मुख्य संचारमाध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

आजको बहसमा मुख्य ६ वटा शीर्षकमा छलफल हुनेछ । हरेक शीर्षकमा १५ मिनेट छलफल हुनेछ । कोभिड १९ बिरुद्धको लडाई, अमेरिकन परिवार, अमेरिकामा जातीयता, मौषम परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व विषयमा बहस हुनेछ ।

 

मतदानका लागि योग्य नेपाली अमेरिकन झण्डै ५० हजार

यसपटकको चुनावमा झण्डै ५० हजार नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । त्यो बाहेक नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरुको संख्या पनि बढ्दो छ ।

अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । सन् २०१८ मा अमेरिकाभर ५२५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् । सन् २०१९ र त्यसपछि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७ हजारको हाराहारीमा रहेको छ ।

सन् २०२४ मा हुने चुनावसम्म यो संख्या तीनगुणा बढ्ने अनुमान गरिएको छ । किनभने हाल अमेरिकामा रहेका झण्डै एकलाख ग्रिनकार्डवाहक नेपालीहरु त्यतीबेलासम्म अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुनसक्नेछन् ।

बढी मत ल्याउनेले पनि हार्नसक्छ

अमेरिकी राष्ट्रपति चुनावको अनौठो पक्ष के छ भने चुनावमा बढी मत ल्याउनेले समेत चुनाव हार्नसक्छ । अमेरिकी इतिहासमा यस्तो कैयन पटक भएको छ ।

सन् २००० मा भएको राष्ट्रपति चुनावमा एल गोरले ५ करोड ९ लाख ९९ हजार ८ सय ९७ भोट ल्याए भने जर्ज बुसले ५ करोड ४ लाख ५६ हजार २ भोट ल्याए । बुसले भन्दा शुन्य दशमलव ५ प्रतिशत बढी भोट एल गोरले ल्याएका थिए । तर चुनाव जीते बुसले ।

त्यस्तै सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५३ हजार ५ सय १४ भोट ल्याइन् । तर ट्रम्पले त्यो भन्दा कम ६ करोड २९ लाख ८४ हजार ८ सय २८ भोट ल्याए । अर्थात् ट्रम्पले भन्दा हिलारीले झण्डै साढे २८ लाख बढी भोट ल्याइन् । तरपनि चुनाव भने ट्रम्पले नै जीते ।

यस्तो सन् १८८८ र १८७६ को चुनावमा पनि भएको छ । यस्तो घटना १८२४ मा पनि भएको थियो, तर त्यतीबेला ६ वटा राज्यहरुमा इलेक्टरहरु नियुक्त गरिएका कारण प्रकृया अलिकति फरक थियो ।

अमेरिकी राष्ट्रपति चुनाव पूर्णरुपमा प्रत्यक्ष चुनाव होइन । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् ।

त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए ।

सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

त्यस्तै सन् २०१६ को चुनावमा ट्रम्पले ३०४ इलेक्टोरल भोट पाएका थिए भने हिलारीले २२७ इलेक्टोरल भोट पाएकी थिइन् । डेमोक्रेटिक समर्थकहरुको बाहुल्य रहेका राज्यहरुमा हिलारीले भारी मतान्तरले ट्रम्पलाई पराजित गर्दा र रिपब्लिकिनका पकड भएका क्षेत्रहरुमा ट्रम्पले हिलारीलाई झिनो मतान्तरले पराजित गर्दा कुल मत बढी प्राप्त गर्दा पनि हिलारीले चुनाव भने जित्न सकिनन् ।

अझ रोचक त के छ भने इतिहासमा पपुलर भोट कम ल्याएर पनि अमेरिकी राष्ट्रपति हुनेहरु चारैजना रिपब्लिकन रहेका छन् ।

उसो त अमेरिकाको चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने आवाज पनि नउठेको होइन । राष्टपति पपुलर भोटबाट निर्वाचित हुनुपर्ने व्यवस्थाको माग पनि हुने गरेको छ । तर अहिलेसम्म भने त्यसो हुन सकेको छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com