एक्सक्लुसिभ: अदालतको आदेशपछि सेप्टेम्बरमामात्र ४०४ डिभी विजेता नेपालीले पाए भिसा


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा मात्र ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । यो संख्या सेप्टेम्बरमा विभिन्न देशमा रहेर वा अमेरिकामा नै भिसा एड्जस्ट गर्ने नेपालीहरुको संख्या हो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो । काठमाडौंमा रहेको अमेरिकी दूतावासले झण्डै तीनसाताको अवधिमा यति धेरै डिभी विजेतालाई भिसा जारी गरेको सम्भवत यो नै पहिलो पटक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्चको तेश्रो सातादेखि कोरोना महामारीका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावासको नियमित भिसासेवा अवरुद्ध भएको थियो भने अप्रिल २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण डाइभर्सिटी भिसा जारी गर्न रोक लागेको थियो । तर पनि अप्रिल, जुलाई र अगस्त महिनामा समेत ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

अप्रिल २२ मा ट्रम्पको कार्यकारी आदेश जारी भएपनि उक्त महिनामा १४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । उनीहरुमध्ये ८ जना प्राथमिक आवेदक र ६ जना उनीहरुका दम्पत्ति र छोराछोरी छन् । कुल १४ जना नेपालीमध्ये १२ जनाले काठमाडौंकै दूतावासबाट भिसा प्राप्त गरेका छन् ।

अप्रिलको कार्यकारी आदेशपछि मे र जुन महिनामा भने कुनै पनि नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेनन् । तर जुलाईमा भने ३३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये १९ जना प्राथमिक डिभी विजेताहरु थिए भने १४ जना उनीहरुका दम्पत्ति र छोराछोरी रहेका थिए । सबैजनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

त्यस्तै अगस्त महिनामा ३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये २१ जना प्राथमिक डिभी विजेताहरु थिए भने १७ जना उनीहरुका दम्पत्ति र छोराछोरी रहेका थिए । उनीहरु सबैजनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २३ सय भन्दा धेरै नेपालीले भने भिसा पाउन सकेनन् । मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएको थियो ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउन कम्तीमा आगामी जनवरीसम्मका लागि ढिलाई हुने भएको छ । अर्थात् उनीहरुले सन् २०२१ को जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन् ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

आर्थिक बर्ष २०२२ का लागि अमेरिकाको डिभी लोटरी भर्ने कार्यक्रम भने जारी रहेको छ । अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भर्न सकिनेछ । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com