सूर्योदय हेर्न बागलुङको हाँडीकोट


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुगे । ब्याडथलामा रात काटेका जिसी र उनका साथीहरु हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले बिहान चारै बजे उठेर उकालो लागे । एक घण्टाको पदयात्रापछि हाँडीकोट पुगे ।

हाँडीकोटको टापुमा पाइला राख्दा/नराख्दै पूर्व क्षितिजमा लाली छायो । केही छिनमै सूर्य उदायो । “धेरै ठाउँको यात्रा गरियो तर हाँडीकोटबाट देखिने सूर्योदय अद्भुत नै लाग्यो”, जिसीले सुनाए । फोटोग्राफीमा पनि अब्बल जिसीले सूर्योदयलाई क्यामेरामा कैद गरे।

घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले त झन् उनलाई रोमाञ्चित तुल्यायो । पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उनको भनाइ छ । जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्नेमा जिसी एक्लो हुन्थेन ।

पर्यटन प्रवद्र्धनमा सक्रिय ‘घुमन्ते समूह’का सदस्य, पत्रकारलगायतले दशैँको छेकोमा हाँडीकोटलाई लक्ष्य बनाएका थिए । शुक्रबार मध्याह्नपख बागलुङ बजारदेखि यात्रा थालेका उनीहरु आइतबार बिहान मात्र हाँडीकोट पुगेका थिए । पहिलो दिन जैदी, सुन्तलाचौरमा रात काटेर भोलिपल्ट बिहान हात्तीढुङ्गा, बेलबगर, गाईधुने गुफा हुँदै ब्याडथला पुगेको ‘घुमन्ते समूह’का सदस्य खिमबहादुर क्षेत्रीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जैदी सेरोफेरोका पर्यटकीय गन्तव्य चहार्दै शनिबार साँझ हाँडीकोट तल ब्याडथला बास बस्न पुगेको उनले जानकारी दिए । “यात्राको एउटा लक्ष्य सूर्योदय अवलोकन पनि थियो, साँच्चिकै त्यसले हाम्रो यात्रालाई पूर्ण बनायो”, क्षेत्रीले भने । त्यस दिन हिमाल पूरै नखुले पनि सूर्योदयले अरु थोक बिर्साइदिएको उनले बताए।

पर्यटकीय लेक हाँडीकोटबाट सूर्योदय/सूर्यास्तसँगै मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भूभाग देखिन्छन् । कुनै बेला भुरे/टाकुरे राजाले त्यस क्षेत्रबाट राज्य चलाएको इतिहासमा उल्लेख छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि हाँडीकोट धनी छ । दुर्लभ चरा र वन्यजन्तुको बासस्थान रहेको तथा दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीयवासी बताउँछन् ।

हाँडीकोट युवा क्लबका सदस्य यम पुनले सरकारी तवरबाट कुनै पनि निकायको नजर हाँडीकोटमा नपरेको बताए। “यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन”, उनले भने, “पछिल्लो समय हाँडीको चर्चा हुन थाले पनि सोअनुसार यहाँको विकासले गति लिन सकेको छैन ।” स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले समेत हाँडीकोटलाई बेवास्ता गरेको उहाँको गुनासो छ ।

फोटो पत्रकार आरके अदिप्त गिरीले पर्यटनमैत्री र कलासापेक्ष ढङ्गले संरचनाहरु बनाउनुपर्ने बताए । जथाभावीरूपमा पूर्वाधार खडा गर्दा हाँडीकोटको प्राकृतिक सौन्दर्य नासिने उनको भनाइ छ । “माथिसम्मै सडक किन ल्याउनुपर्याे ? मन्दिर, भ्यूटावरजस्ता संरचना बनाउँदा पनि मौलिकता झल्किनुपर्छ”, उनले भने । गिरीले हाँडीकोट र नजिकै रहेको ऐतिहासिक थन्थाप माई मन्दिरलाई जोडेर पर्यटन विकासको एकीकृत गुरुयोजना बनाउनुपर्ने धारणा राखे। विसं १८६५ मा बनेको उक्त मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठका रुपमा चिनिन्छ । हाँडीकोट ९० हेक्टर र थन्थाप माई मन्दिर १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर हाँडीकोटमा पर्यटन विकासको काम थालिएको जनाएको छ । पदमार्ग, दृश्यावलोकन स्तम्भ, मन्दिर, होटल, सङ्ग्रहालयलगायत संरचना बनाउने योजना नगरपालिकाको छ । दृश्यावलोकन स्तम्भका लागि प्रदेश सरकारको समेत रु १५ लाख बजेट छ ।

नगरपालिकाको लगानीमा पूर्व र उत्तरपट्टिबाट गरी एक किमी जति पदमार्ग पनि बनिसकेको छ । कच्ची सडक पनि नजिकै पुगेको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ । त्यहाँबाट पैदले हिँडे पनि एक घण्टाभित्रैमा हाँडीकोट पुगिन्छ । पूर्वाधार पनि बन्न शुरु गरेको र प्रचारप्रसार पनि हुन थालेको स्थितिमा पछिल्लो समय हाँडीकोट पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

बन्दोबस्तीसहित पुग्ने कतिपय आन्तरिक पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन् । माथि नै बस्ने प्रबन्ध मिलाएकाले सूर्यास्त र सूर्योदयको अवलोकन एकै यात्रामा गर्न सक्छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर गत वर्ष हाँडीकोट महोत्सवसमेत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com