अब बस चढ्दा फेस शिल्ड अनिवार्य लगाउनु पर्ने
प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार
सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । मुलुकभर कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोरमा गर्ने चात्रुहरुको संख्यामा पनि चाप हुने भएकोले बस चढ्नुअघि फेस शिल्ड अनिवार्य रुपमा लगाउन आग्रह गरेको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले चाडवाडको समयमा भिडभाड बढ्ने बताउँदै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने बताए । भुषालले सार्वजनिक सवारीको सबै सिटमा यात्रुहरु बस्ने गरेको र भौतिक दूरी कायम हुन नसक्ने भएकाले मास्क लगाएजस्तै अब यात्रुहरूको लागि फेस सिल्ड अनिवार्य गरिएको जानकारी दिए ।
यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने यातायात व्यवस्था विभागले बताएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु चढाउन पाउने निर्णय गरेसँगै बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका हुन् ।
यस्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै भाडादर लागू हुनेछ । ट्राफिक प्रहरीसँग समन्वय गरेर बढी भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।