अष्ट्रियाको भियनामा नेपाली महिलाबाट ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या


प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार

अष्ट्रियामा एक नेपाली महिलाले ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या गरेकी छिन् । अष्ट्रियाको भियना बस्ने ती महिलाले ९ बर्ष, ३ बर्षका छोरीहरु र ८ महिनाको छोराको हत्या गरेकी हुन् ।

ती महिलालाई शनिबार प्रहरीले पक्राउ गरिसकेको छ । उनले बच्चाको हत्यापछि आफ्नै ज्यान समेत आफैले लिन चाहेको बताएकी थिइन् । सबैभन्दा जेठी छोरीलाई अस्पतालमा जीवितै लगिएपनि बचाउन नसकिएको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको पृष्ठभूमिबारे अहिलेसम्म कुनै कुरा सार्वजनिक भएको छैन । तर ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समयमा बुटवल बस्ने त्यसपछि अष्ट्रिया गएको जनाइएको छ ।

ती महिला हालैमात्र श्रीमानसँग अलग्गै बस्दै आएको जनाइएको छ । उनका श्रीमानपनि भियनामा नै बस्दै आएका छन् । छोराछोरीको हत्यापछि महिला आफैले प्रहरीमा फोन गरेर बच्चाबच्चीको हत्या गरेको जानकारी दिएकी थिइन् ।

प्रहरीलाई फोन गरेर उनले अब आफूले आफैले मार्न लागेको बताएकी थिइन् । त्यसपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा ती महिलाले आफ्नो शरिरमा समेत चक्कु प्रहार गरेकी थिइन् । तर महिलाको अवस्था गम्भिर नभएकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ती महिलाले शनिबार विहान ५ बजेर २० मिनेट जाँदा प्रहरीलाई फोन गरेकी थिइन् । त्यसपछि ती महिलाले आफ्नो हातमा घाउ बनाएकी थिइन् । तर घाउ भने सामान्यमात्रै रहेको जनाइएको छ ।

ती महिला कान्छो छोरा जन्मेदेखि नै मनोवैज्ञानिक रुपमा विक्षिप्त बन्दै आएको जनाइएको छ । उनको बारम्बार आफ्ना ४४ बर्षका श्रीमानसँग झगडा हुने गरेको बताइएको छ । उनीहरु ४ बर्षदेखि अष्ट्रियामा बस्दै आएको जनाइएको छ ।

गत महिना उनीहरुबीच झगडाले उग्ररुप लिएको थियो । त्यसपछि दुबैजनाबीच हानाहान समेत भएको थियो । त्यसपछि उनका पतिले घर छाड्ने अवस्था आएको थियो भने उनका पतिलाई घरमा जानमा कानुनी रोक लगाइएको थियो, जुन रोक सेप्टेम्बरको अन्त्यसम्म कायम रहेको थियो ।

त्यसपछि महिलाले अनुरोध गरेको खण्डमा उक्त रोकको अवधि थपिनसक्ने भएपनि महिलाले अनुरोध भने नगरेको प्रहरीले जनाएको छ । महिलाले बयानमा पनि बच्चाहरुको हत्या गरेको स्वीकार गरेकी छिन् तर उनको नाम भने सार्वजनिक गरिएको छैन ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com