अमेरिकामा दशैंको टिकाको साइत अक्टोबर २५ मा, नेपालमा भन्दा एकदिन अगाडि


प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले अमेरिकामा दशैको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि नै अर्थात् अक्टोबर २५ मा रहेको जनाएको छ । नेपालमा दशैंको टिका अक्टोबर २६ अर्थात् कार्तिक १० गते रहेको छ ।

अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले विदेशका विभिन्न ठाउँहरुको लागि स्थानीय समयअनुसारको दशैँको टीकाको साईत निकाली प्रकाशन गरेको हो । जसमध्ये अक्टोबर २५ तारिख आईतबार अमेरिकाको पूर्वी भूभाग अर्थात न्यूयोर्क, वासिंटन डिसी, मेरिल्याण्ड तथा भर्जिनिया र फ्लोरिडा लगायतका राज्यहरुमा विहान ११ बजेर ५ मिनेटको साईत निस्किएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समितिले विभिन्न देशका लागि तय गरेको दशैंको टिकाको साइत यस्तो छ ।

मध्य अमेरिका टेक्सास लगायत क्यालिफोर्नियाको पनि अक्टोबर २५ तारिखकै छुट्टाछुट्टै समयको साईत निस्किएको छ । क्यानडाको लागि विहान ११ बजेर ४३ मिनेटको साईत निर्धारण गरिएको छ ।

त्यसैगरी मारुतीनन्दन पन्चांगले पनि अमेरिकाको लागि दशैँको साईत प्रकाशित गरेको छ । आफू बस्ने स्थानको अक्षांश र देशान्तरको आधारमा तिथिको गणना गरी यस्ता विशेष खालका चाडपर्वहरु शुभ साईतमा मान्नु पर्ने भएकोले यसरी निकाल्न थालिएको अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिका अध्यक्ष डाक्टर माधव भट्टराईले बताए ।

गतबर्ष पनि अमेरिकामा टिकाको साइतको विषयमा केही विवाद देखिएको थियो । नेपालमा टिका नलगाउँदै अमेरिकामा टिकाको साइत रहेको बताइएपछि अमेरिकामा बस्ने केही नेपालीहरुले नेपालमा टिका नलगाउँदै आफूहरुले अमेरिकामा टिका नलगाउने बताएका थिए ।

गत वर्षदेखि अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समितिले विभिन्न देशका लागि बेग्लाबेग्लै साइत जारी गर्न थालेपछि विवाद उठेको हो ।

दशैंको टीकाको साइत नेपालमा २६ अक्टोबर बिहान १० बजेर १९ मिनेटमा छ । विदेशमा रहेका नेपालीहरुले सामान्यतया नेपालकै साइतमा दशैंको टीका लगाउने गरेका थिए । गत वर्षदेखि डा. भट्टराईको समितिले बेग्लै साइत जारी गर्न थालेको हो । यो समितिको साइतलाई भने सरकारले आधिकारिकता दिएको छैन ।

तस्वीर : गतबर्ष न्युयोर्कको रिजउडमा दशैंको टिकाग्रहण ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com