उपराष्ट्रपतीय बहसका क्रममा उम्मेदवार माइक पेन्सका टाउकोमा झिंगा बसेपछि…


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

अमेरिकाका उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस र माइक पेन्सबीचको बहसका क्रममा पेन्सको टाउकोमा झिंगा बसेपछि सामाजिक सञ्जालमा मजाक सुरु भएको छ । बहसकै क्रममा झिंगा केहीबेर पेन्सको टाउकोमा आएर बसेको थियो ।

केहीबेर बसेको झिंगा आफै उडेको थियो । झिंगा बसेको पेन्सले भने थाहा नपाएको जस्तो देखिन्थ्यो । पेन्सले झिंगा धपाउने प्रयास समेत गरेनन् ।

केहीले ट्वीटरमा आफ्नो नामै परिवर्तन गरेर माइक पेन्सको टाउकोमा झिंगा समेत राखेका छन् । कतिपयले यसको भिडियो र तस्वीर पोष्ट गरेका छन् ।

अमेरिकाको राष्ट्रपति चुनाव आउन २७ दिन बाँकी रहँदा  युटाहको साल्टलेक सिटीमा उपराष्ट्रपतिका उम्मेदवारहरु माइक पेन्स र कमला ह्यारिसबीचको पहिलो र एकमात्र बहस भएको हो ।

स्वास्थ्यको विषयलाई ध्यानमा राखेर बहसमा पेन्स र ह्यारिसबीच काँचको पर्दा राखिएको थियो । स्वास्थयविदहरुले बहस रद्द गर्न वा भर्चुअल रुपमा राख्न आव्हान गरेपनि बीचमा काँचको पर्दा राखेर बहस गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका निकटस्थ गरी दर्जन बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको अवस्थामा कोरोनाको महामारीका कारण संक्रमण फैलिन नदिन बहसमा काँचको पर्दा राखिएको हो ।

कमला ह्यारिस र माइक पेन्सबीचको यो बहस नोभेम्बर ३ अगाडिको पहिलो र एउटामात्रै हो । युएसए टुडेकी वासिंटन ब्यूरो प्रमुख सुजन पेजले बहसको संचालन गरिन् भने अमेरिकामा मुख्य सबै संचारमाध्यमले बहस प्रशारण गरे । बहस न्युयोर्क समय अनुशार राती ९ बजेदेखि सुरु भएको छ भने साढे १० बजेसम्म संचालन भयो ।

अब अक्टोबर १५ र २२ मा राष्ट्रपतिका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडेनबीच दुईवटा बहसहरु हुनेछन् । बाइडेन र ट्रम्पबीच एउटा बहस भने सम्पन्न भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com