विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त


प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ९एनआरएन०का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् ।

संघ अन्तर्गत स्वास्थ्य समितिका अनुसार विदेशमा शनिार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ ।

यस साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको एनआरएन कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

यस्तै नेपालमा मात्र ८४ हजार ५७० जना कोरोना भाइरसबाट सङ्क्रमित तथा ६२ हजार ७४० जना कोरोनामुक्त भएका छन् । यो कुलसङ्क्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५२८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये ९८ हजार ६५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।

सङ्घको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । डा सापकोटाले कोरोना सङ्क्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नाको अर्को विकल्प नभएको हुँदा सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गर्नुभएको छ । उहाँले कोरोना सङ्क्रमणको आशङ्का लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com