न्युयोर्क लगायतका अध्यागमन अदालतमा नियमित सुनुवाई अक्टोबर १९ अगाडि सुरु नहुने


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

न्युयोर्कको अध्यागमन अदालत हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा अक्टोबर १९ अगाडि नखुल्ने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले अरु एकसाता थपेर नियमित सुनुवाई अक्टोबर १९ अगाडि सुचारु नहुने जनाएको हो । न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा अक्टोबर १९ सम्म बन्द रहनेछन् ।

यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत पनि फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।

अक्टोबर १६ सम्म बन्द रहने बताइएपनि अक्टोबर १६ मा  शुक्रबार भएका कारण अब न्युयोर्क सिटीमा रहेका अध्यागमन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि अक्टोबर १९ अगाडि खुल्ने कुनै सम्भावना रहेको छैन । तर नेवार्कमा रहेको अध्यागमन अदालत भने हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि समेत खुलिसकेको छ ।

अध्यागमन अदालतमा हिराशतमा रहेकाहरुबाहेक अन्यको सुनुवाई हुन नसक्दा कैयन नेपालीहरु मारमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३८७६ केसहरु पेन्डिङ रहेका छन्, जसमध्ये ३८३४ केसहरु इमिग्रेशन सम्बन्धित रहेका छन् । १३ वटा केसहरुभने अपराधसँग सम्बन्धित रहेका छन् । इमिग्रेशनका नेपालीका पेन्डिङ केसहरुमध्ये सबैभन्दा धेरै न्युयोर्कको फेडरल प्लाजामा १६६९ केसहरु रहेका छन् ।

न्युयोर्क राज्यका ४ वटा अदालतहरुमा नेपालीका पेन्डिङ इमिग्रेशन केसहरु २०२३ रहेका छन्, जसमध्ये ब्रोडवेको अध्यागमन अदालतमा २२८, भेरिक स्ट्रीटमा १२३ र बफेलोमा ३ वटा इमिग्रेशन केसहरु रहेका छन् । न्युयोर्कपछि क्यालिफोर्नियामा १०२६ नेपालीका इमिग्रेशन केसहरु पेन्डिङ रहेका छन् । क्यालिफोर्नियाका ५ सुनुवाइस्थलमध्ये सबैभन्दा धेरै नेपालीका पेन्डिङ केसहरु सान फ्रान्सिस्कोमा रहेका छन् ।

नेपालीका अधिकांश अध्यागमन केसहरु एसाइलमसँग सम्बन्धित रहेका छन् । पछिल्लो समयमा मेक्सिकोबाट अमेरिकी सिमाक्षेत्रमा आएर विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेर एसाइलम दावी गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com