‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

प्रधानन्यायाधिस सुशीला कार्कीबिरुद्ध सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले दर्ता गराएको महाअभियोग प्रस्तावको एमालेले विरोध गरेको छ ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याएको एमालेले आरोप लगाएको छ ।

एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको भर्त्सना गर्दै सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरेको बताएका छन् । नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास भएको भन्दै एमालेले त्यसविरुद्ध डटेर सामना गर्ने उनले बताए ।

भट्टराईले कार्की योग्य, निडर र क्षमतावान रहेको बताउँदै सरकारले आम नेपाली महिलामाथि नै अपमान गरेको बताएका छन् । निर्वाचन आयोग, न्यायालयलगायत संवैधानिक निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै सरकारले अलोकतान्त्रिक र अधिनायकवादी शासनको पूर्वअभ्यास गरेको उनले आरोप लगाएका छन् ।

एमाले नेता एवं पूर्वकानुन मन्त्री अग्नि खरेलले कार्कीविरुद्धको महाअभियोग दुर्भाग्यपूर्ण तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास भएको बताएका छन् । चुनावको मुद्धाबाट ध्यान हटाउन र चुनाव रोक्ने अभिप्रायले यो प्रस्ताव ल्याइको उनले बताएका छन् ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग शुभसंकेत नभएको बताएका छन् । उनले विधि र प्रक्रियाका आधारमा पनि सरकारले उपयुक्त कदम नचालेको टिप्पणी गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com