विचार: रामप्रसाद खनाल: बुझ्नेलाई नेपाली महात्मा गान्धी, नबुझ्नेलाई लहडी बुढा डा. गोविन्द केसी


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

– रामप्रसाद खनाल

विषादी युक्त, मिसावट युक्त, रासायनिक मल युक्त तरकारी, फलफूल, खाद्यान्न खाँदा खाँदै, प्रदूषित पानी पिउँदा पिउँदै होला हामी नेपालीहरूको बुद्धि, विवेकमा पनि विषादी, मिसावट र प्रदूषणको मात्रा प्रचुर देखिन थालेको छ । हाम्रो चेत हराइसकेको छ । विवेक गुमिसकेको छ । राम्रो नराम्रो छुट्टाउने हाम्रो क्षमता दिन प्रतिदिन खस्कँदै छ ।

डिग्रीधारी बन्यौँ, घर घरमा डिग्रीधारी छोरा छोरी पनि बनाइरहेका छौँ तर विवेकको कुरा गर्ने हो भने कालो क नपढेका, स्कूल नगएका हाम्रा जिजु बराजुहरू हामी भन्दा दसौँ गुणा बढी चेत भएका, बुझ्ने, राम्रो नराम्रो छुट्याउन सक्ने, विवेक भएका थिए भन्ने कुरामा मलाई अब कुनै अलमल, धरमर छैन ।

मैले यसो किन भन्दैछु ? आउनुहोस् म यसको राज खोल्छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. गोविन्द केसी, जो बुझ्नेलाई नेपाली महात्मा गान्धी हुन् । नबुझ्नेलाई लहडी बुढा । हाल सम्म विवाह नगरेका, आफ्नो सुख सयल र अयस आरामको जिन्दगी भुलेर गरिब, दुखी, असहाय, निर्दाहरूको उपचार, जीवनदान, सेवा मै जिन्दगी बिताएका, प्राध्यापक डाक्टर बनेर आफू जस्तै हजारौँ डाक्टर पढाएका, बनाएका, देश र जनताको सेवा गरेका डा. केसी न जिन्दगीमा कुनै राजनीतिक पार्टी, न नेता, न सरकारका पछाडि लागे, न त कहिल्यै आफ्ना लागि केही मागे, बरु उनलाई उच्च तहका पदमा नियुक्ति लिन सरकारहरूले आग्रह गर्दा त्याग मात्र गरे लिन जानेनन्, मानेनन्, थिति बसाउने कुरा गरे, न्याय सङ्गत कुरा गरे, जनताको बोली बोले र आज सम्म आफ्नो स्वाभिमान जोगाउँदै, भ्रष्ट, दलाल, माफियाहरुको सातो काढ्दै आइरहेका छन् ।

अचम्मको कुरा उनी अरूसँग कहिल्यै केही माग्दैनन्, दिएको लिँदैनन्, मात्र आफ्नै स्वआर्जनबाट दिन दुखीहरूलाई सेवा गर्छन् । जीवन दान गर्छन् । एउटै सर्ट र पाइन्टमा, एक जोर चप्पल र जुत्तामा बर्सौँ गुजारा चलाउने डा. केसीले दूर दराजका लागि, जन जनका लागि आवाज उठाउँछन, बाढी, पहिरो, भूकम्प, प्राकृतिक प्रकोप पीडित क्षेत्रमा पुग्छन् झोला र बोरामा औषधी बोकेर । तर भ्रष्टाचारमा चुर्लुम्म डुबेका सरकारहरू, प्रधानमन्त्री र मन्त्रीहरू, दलका दलेहरु, दाशहरू. माफियाहरू उनलाई नै दोषी करार गर्छन् । उनको स्वभिमान र सेवा माथि निर्लज्ज ढङ्गले प्रश्न उठाउँछन । चरित्र हत्या गर्छन् ।

उनको समर्थनमा उत्रने बाहेकका ती कुरूप, निर्लज्ज अनुहारहरू देख्दा लाग्छ हाम्रो देश शतीले श्राप गरेकै देश हो । यहाँ राम्रो गर्नेलाई कहिल्यै राम्रो हुन्न । अझ भन्न मन लाग्छ – देश हराएका मान्छेहरूको देश हो हाम्रो देश । यो हामी जस्ता जिउँदा मुर्दाहरूको बस्ती हो । यो हामी जस्ता पागलहरूको पागल बस्ती हो । आफ्नो जमिन फिर्ता ल्याउने होइन, सत्ता जोगाउन चुच्चे नक्सा जारी मात्र गर्ने नौटँकीहरुको देश हो । अझ पर गएर भन्ने हो भने यो भावनामा मात्र जीवित रहेको, नक्सामा मात्र कायम रहेको निर्जीव देश हो ।

प्रकृतिले सबै कुरा दिएको, स्वर्गको टुक्रा जस्तो, सानो देश, सुन्दर देश तर आज कुशासन र भ्रष्टाचारका कारण नर्क जस्तो बनाइएको देश हो । म हजार गाली सुन्न तयार छु, हजार बाण थाप्न तयार छु मेरा छातीमा तर वास्तविकता यही नै हो म छाती खोलेर भन्छु । बोल्छु ।

२०२८ साल तिर झापामा गाउँले सामन्तका नाममा कयौँको टाउको छिनाएका र अदालतले हत्यारा करार गर्दै १४ वर्ष जेल पठाएका तिनै अपराधी हाम्रा राजनेता बन्ने देश, मन्त्री, प्रधानमन्त्री बन्ने देश । भारतीय सहयोगमा, भारतकै आश्रय, तालिम, हतियार लिएर, भारत विरुद्ध कुनै गतिविधि नगर्ने कसम खाएर सत्र हजार निर्दोशहरुलाई मारेर, दश वर्ष सम्म देश र जनतालाई अलपत्र पारेर मन्त्री, प्रधानमन्त्री बन्ने देश, राजनेता बन्ने हाम्रो देश, लुट्ने, कुट्ने, भुट्ने, अपहरण गर्ने राक्षसहरूको वाहवाही हुने हाम्रो देशमा डा. गोविन्द केसी लाई गाली गरिनु, सत्तो सराप गरिनु कुनै नौलो कुरा होइन ।

आफ्नै बाबु आमा, आफ्नै छोरा छोरी, आफ्नै श्रीमान् श्रीमती मारिँदा सहेर बस्ने हामी तिनकै पछाडि नारा लगाउँदै र तिनै हत्याराहरूलाई नेता मान्दै, भोट हाल्दै उच्च ओहोदामा पुर्‍याउने हामीहरू जस्ता नालायक, नामर्दहरू पनि कम अपराधीहरू अवश्य होइनौँ ।

हामीले हाम्रो स्वाभिमान बेचेर खाइसकेका छौँ । हाम्रो मात्र होइन हाम्रा शान्तातिको भविष्य पनि खाइसकेका छौँ । यस्तो अवस्थामा कहाँ बाट एउटा युगमा एउटा मान्छे जन्मिन्छ भनेझैँ डा. गोविन्द केसी जन्मिए तर हामीले उनलाई चिनेनौँ । दल, दले, दाशहरूका कुरा सुन्दै डा. केसीको आलोचना गर्ने हामीहरू जिउँदा मुर्दाहरू नै हौँ । मलाई कुनै शङ्का छैन ।

डा. केसीले उठाएका मागहरू हेरौँ र भनौँ कुन कुरा डा. केसीले गलत भनेका छन् । यदि उनका मागहरू गलत भएका भए यस अगाडिका सरकारहरूले किन झुके ? पुरा गर्ने लिखित बाचा सहित किन भुले ? किन सम्झौता गरे ? उनीसँग माग जायज छन् हामी पुरा गर्छौँ भनेर सम्झौता गर्ने तर पुरा नगर्ने सरकार बेइमान कि डा. केसी बेइमान ?

डा. केसीका मागहरू फेरी एक पटक हेर्नुस् त !

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।

३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

४. त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस् ।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गरियोस् ।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्ग को जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठुला भ्रष्टाचार काण्डका दोषीहरूलाई कानुन बमोजिम छानबिन र कारबाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाइयोस् । यी सबै प्रकरणका दोषीहरूलाई कारबाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि कानुन बमोजिम छानबिन र महाभियोगलगायतका कारबाही गरियोस् । अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस् ।

लौ भन्नुस् कुन कुरा गलत छन् डा. केसीको ? कुन कुरा पुरा गर्न नमिल्ने छन् ?  कुन कुरा डा. केसीले आफ्नो लागि माग गरेका छन् ?

आज म खुल्ला चेतावनी र चुनौतीका साथ भन्दैछु – एक दिन श्रीमतीले श्रीमान् छोडेर हेर, श्रीमानले श्रीमती छोडेर हेर । दुई छाक अन्न पानी छोडेर हेर अनि बल्ल थाहा पाउने छौ, महसुस गर्ने छौ के रहेछ अनशन (सत्याग्रह) । कति गाह्रो छ सत्याग्रह ।

यदि डा. केसी अनशनका क्रममा मरिहाले भने उनको जाने कुरा केही छैन, उनी आफू जान्छन् सकियो । उनकी जीवित आमा एकै छिन रोलिन । आफन्तजन एक छिन रोलान् सकियो तर जिन्दगी भर रुनुपर्ने हामी नेपाली जनता हो । हाम्रा सन्ततिहरू हो रुनुपर्ने भविष्यमा ! त्यसैले आजका लागि होइन भोलिका लागि सोंचौं, डा. केसीको समर्थन गर्दै भ्रष्ट, नालायक, अपराधी र राक्षसी राजको आँखा खोल्न आवाज बुलन्द गरौँ । नगर्ने हो भने मलाई भन्नु केही छैन ।

हामी सधैँ जिउँदै मरिरहेका छौँ, जिउँदा मुर्दा बनिरहेका छौँ अब सन्ततिलाई पनि जिउँदै मारौँ । अपराधी, राक्षसी राजलाई जिताऔं, डा. केसीलाई हराऔं । अनसन मै मारौँ । अरू के भनौँ र ! आगे तपाईँहरूकै जो मर्जी !

भर्जिनिया, अमेरिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com