मुलुकको पहिलो पाठशालाको विजोग !


प्रकाशित मिति : बैशाख १५, २०७४ शुक्रबार

विनाशकारी भूकम्पले क्षति पुर्याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि नयाँ भवन निर्माण हुन नसक्दा मुलुककै पहिलो पाठशालाका रुपमा स्थापित दरबार हाइस्कुल भानु माविका विद्यार्थी यतिबेला टहरामा बसेर पढ्न बाध्य छन् ।

भूकम्पले भवन भत्काएको दुई वर्ष बितिसक्यो तर नयाँ भवन निर्माण गर्ने अझै सुरसार छैन । शिक्षा मन्त्रालयका अनुसार भूकम्पबाट उपत्यकाका पाँच सय सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । उपत्यकाभित्र ६२५ सामुदायिक विद्यालय रहेका छन् ।

मल्लकालीन रानीपोखरीको पश्चिमपट्टि अवस्थित दरबार हाइस्कुलका नर्सरीदेखि कक्षा १० सम्मका करिब १८० विद्यार्थी टहरामै बढ्दै आएका छन् । सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले भूकम्प भएको दुई वर्षसम्म भवन निर्माणका लागि शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र पुनःनिर्माण प्राधिकरणलगायत सम्बन्धित निकायलाई पटकपटक हारगुहार गर्दासमेत छिट्टै निर्माण हुन्छ भन्दै आश्वासनमात्र दिएको बताउनुभयो ।

त्यसैगरी पद्मोदय घुम्तीनजिकै रहेको पद्मोदय उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि नयाँ भवन बन्न सकेको छैन । त्यस विद्यालयका विद्यार्थी अहिले पनि टहरामा बसेर पढ्न बाध्य छन् ।

प्राध्यानाध्यापक मीना कोइरालाले भवन निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्रोत जुटाउन नसकेका कारण पनि भूकम्पका कारण भत्किएका विद्यालय पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com