नेपाली डिभी विजेतालाई अमेरिकी विदेशमन्त्रालयका अधिकारीको यस्तो सुझाव


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै पहिले नै अन्तरवार्ता भइसकेका वा तय भएका सन् २०२० का डिभी विजेतालाई भिसा दिइने स्पष्ट पारेपछि नेपाली डिभी विजेताहरुले अब कसरी भिसा प्राप्त गर्न सकिन्छ भन्नेबारेमा जिज्ञासा राखेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा नियमित भिसा सेवा संचालनमा नआइसकेको अवस्थामा डिभी विजेता नेपालीहरु अलमलमा परेका हुन् ।

खसोखासले यसबारेको प्रश्न अमेरिकी विदेशमन्त्रालयका अधिकारी समक्ष राखेको थियो । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा नियमित भिसा सेवा बन्द रहेको अवस्थामा अब डिभी २०२० का विजेताहरुले के गर्ने भन्ने खसोखासको प्रश्नमा विदेशमन्त्रालयका अधिकारीले दूतावासलाई डिभी २०२० का आवेदकहरुको प्रकृयालाई प्राथमिकता दिन निर्देशन दिइसकिएको बताएका छन् ।

पहिले नै भिसाका लागि अन्तरवार्ताको मिति तय भइसकेका तर कोरोना महामारीका कारण अन्तरवार्ता हुन नसकेकाहरुलाई उनले तुरुन्त सम्बन्धित दूतावास वा कन्सुलेटमा सिधा सम्पर्क गर्न सुझाव दिएका छन् । यदि सम्बन्धित दूतावास वा कन्सुलेटले स्थानीय स्वास्थ्य अवस्था वा साधनश्रोतको अभावका कारण आवेदनलाई प्रकृयामा लैजान नसकेको खण्डमा अर्को पोष्टमा स्थानान्तरणका लागि अनुरोध गर्न सकिने ती अधिकारीले खसोखासलाई बताए ।

आवेदकले आफूले आवेदन सार्न चाहेको कन्सुलेट वा दूतावासमा सिधा सम्पर्क गर्न सक्नेपनि उनले जानकारी दिएका छन् । तर सबै अनुरोधहरु पूरा गर्नभने आफूहरु सक्षम नभएको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबारेमा खसोखासले अमेरिकी दूतावास काठमाडौंमा समेत सम्पर्कको प्रयास गरिरहेको छ । तर अहिलेसम्म अमेरिकी दूतावास काठमाडौंले यसबारे केही जानकारी दिएको छैन ।

अमेरिकाको संघीय अदालतले सन् २०२० को डिभी विजेताहरुलाई भिसा नरोक्न आदेश दिएपछि अमेरिकी विदेशमन्त्रालयले बुधबार एक सुचना जारी गर्दै अदालतको आदेश कार्यान्वयन गरिने जनाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार मुद्दाका वादीहरुलाई पहिलो प्राथमिकता दिइने भएको छ भने पहिले नै भिसा अन्तरवार्ता भइसकेका तर भिसा जारी हुन बाँकी रहेकाहरुलाई दोश्रो प्राथमिकता दिइने भएको छ । यस अन्तरगत विगतको भिसा अस्वीकृतिलाई जित्न चाहेका, प्रशासनिक प्रकृयामा रहेका र पुन भिसा जारी हुनका लागि पर्खेकाहरुलाई प्राथमिकता दिइनेभएको छ ।

त्यसपछि मार्च, अप्रिल र मे महिनामा अन्तरवार्ताको मिति तय भएका तर कोरोना महामारीका कारण अन्तरवार्ता दिन नपाएकाहरुलाई तेश्रो प्राथमिकता दिइने भएको छ । यीबाहेकका भिसा प्रकृया अगाडि बढाइसकेपछि अरु आवेदनहरु अगाडि बढाउनका लागि कन्सुलेटमा क्षमता भएको खण्डमा अन्य आवेदनलाई समेत अगाडि बढाइने जनाइएको छ ।

सन् २०२० को डिभी लोटरी जितेकाहरुले यही सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले गत अप्रिलदेखि सन् २०२० का डिभी विजेताहरुलाई भिसा प्राप्त गर्नमा रोक लगाएको थियो । अब झण्डै २० दिनमात्र बाँकी रहेको अवस्थामा अमेरिकी विदेशमन्त्रालयको योजनालाई अमेरिकी दूतावास र कन्सुलेटहरुले कसरी कार्यान्वयन गर्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।

विश्वका अधिकांश अमेरिकी दूतावासहरु कोरोना महामारीका कारण सिमित सेवाका साथमामात्र संचालनमा रहेका छन् । अधिकांश दूतावासहरुमा नियमित भिसा सेवा स्थगित गरिएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा पनि नियमित भिसा सेवा अबरुद्ध रहेको छ ।

त्यस्तै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश डिसेम्बर ३१ सम्मका लागि रहेकाले डिभी २०२० का विजेताहरुले भिसा प्राप्त गरेपनि डिसेम्बर ३१ सम्ममा अमेरिका आउनमा भने रोक लाग्नसक्ने विदेश मन्त्रालयले जनाएको छ । डिभी विजेताहरुले ट्रम्पको कार्यकारी आदेशमा दिइएको छुट प्राप्त नगरेसम्म भिसा प्राप्त गरेपनि डिसेम्बर ३१ अगाडि अमेरिका आउन नसक्ने जनाइएको छ ।

आगामी डिसेम्बर ३१ अगाडि नै भिसाको म्याद सकिने डिभी विजेताहरु उक्त भिसामा अमेरिका आउन नसक्ने जनाइएको छ । त्यस्तै सन् २०२० को सेप्टेम्बर ३० पछि २०२० का डिभी विजेताहरुलाई नयाँ भिसा जारी गर्न नसकिने पनि विदेशमन्त्रालयले स्पष्ट पारेको छ ।

अप्रिल २३ भन्दा अगाडि नै भिसा प्राप्त गरेका तर अमेरिका आउन नसकेकाहरुलाई भने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले कुनै असर गर्नेछैन । उनीहरुको भिसा समाप्त भएको खण्डमा सेप्टेम्बर ३० भन्दा अगाडि नयाँ भिसा समेत जारी गर्न सकिनेछ । र उनीहरु डिसेम्बर ३१ भन्दा अगाडि नै अमेरिका आउन सक्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com