Follow @khasokhasmag

‘आष्ट्राजेनेका भ्याक्सिनको क्लीनिकल परीक्षण रोकिनु दुर्भाग्यपूर्ण’


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले बेलायती कम्पनी आष्ट्राजेनेकाको कोरोनाबिरुद्धको भ्याक्सिनको तश्रो चरणको क्लीनिकल परीक्षण स्थगित हुनु असाधारण नभएपनि दूर्भाग्यपूर्ण रहेको बताएका छन् । एकजना सहभागी गम्भिर बिरामी भएपछि आष्ट्राजेनेकाको तेश्रो चरणको क्लीनिकल परीक्षण स्थगित भएको छ ।

फाउचीले यो विषय छिट्टै टुंगो लागेर आष्ट्राजेनेकाले बाँकी परीक्षणको प्रकृया अगाडि बढाउने अपेक्षा व्यक्त गरेका छन् । सहभागी कस्तो खालको बिरामी भएका हुन् भन्नेबारे स्पष्ट नभएपनि आष्ट्राजेनेकाले मंगलबारदेखि क्लीनिकल परीक्षण स्थगित गरेको छ ।

हालैमात्र आष्ट्राजेनेकाको क्लीनिकल परीक्षण अमेरिकामा सुरु भएको थियो । ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्समा समेत रहेका डाक्टर फाउचीले भ्याक्सिनको प्रभावकारिता र सुरक्षा यो बर्षको अन्त्यसम्ममा थाहा हुने बताएका छन् । अक्टोबरमा समेत भ्याक्सिन आउन सम्भव भएपनि आउने अवस्था भने नरहेको उनले बताएका छन् । उनले सन् २०२१ को सुरुदेखि भ्याक्सिन वितरण सुरु गर्नसकिने आशा व्यक्त गरेका छन् ।

अहिले कोरोनाबिरुद्धका १७० वटा भन्दा धेरै भ्याक्सिनहरु प्रि क्लिनिकल अवस्थामा छन् । ती भ्याक्सिनहरु या त जनावरमा परीक्षण भइरहेका छन्, या त ल्याबमा परीक्षणका क्रममा रहेका छन् ।

१० प्रकारका भ्याक्सिनहरु अहिले पहिलो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । पहिलो चरणको परीक्षण अन्तरगत केही थोरै स्वास्थ्य व्यक्तिमा भ्याक्सिन परीक्षण गरिन्छ ।

विभिन्न १४ प्रकारका भ्याक्सिनहरु अहिले दोश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा बिरामीको उच्च जोखिममा रहेका लगायतका वृहतमात्रामा भ्याक्सीनको परीक्षण गरिन्छ । पहिलो चरणको तुलनामा धेरैजनामा परीक्षण गरिने भएपनि तेश्रो चरणको तुलनामा भने कममा परीक्षण गरिन्छ ।

विभिन्न सात प्रकारका भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा दशौं हजारमा भ्याक्सीनको परीक्षण गरिन्छ । यो परीक्षणको अन्तिम चरण हो । यो चरणपछि भ्याक्सिनले प्रयोगका लागि आपतकालिन स्वीकृति पाउनसक्छ ।

अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइएको छैन । यो चरणमा पुगेपछि भ्याक्सिनलाई आमरुपमा प्रयोगका लागि स्वीकृति दिइन्छ । तर त्यसका लागि भ्याक्सिन सुरक्षित र प्रभावकारी सावित हुन जरुरी छ ।

पोलियोको भ्याक्सिन निर्माणका लागि ७ बर्षको अवधि लागेको थियो । सन् १९४८ देखि सन् १९५५ सम्मका विभिन्न परीक्षणबाट पोलियोको भ्याक्सिन निर्माण भएको थियो । विश्व स्वास्थ्य संगठनले मंगलबार अफ्रिकाबाट पोलियो उन्मुलन भएको घोषणा गरिसकेको छ ।

दादुराबिरुद्धको भ्याक्सिन निर्माण गर्न ९ बर्ष लागेको थियो । सन् १९५४ देखि सन् १९६३ मा विभिन्न खालका परीक्षणहरुपछि दादुराबिरुद्धको भ्याक्सिन निर्माण गरिएको थियो ।

ठेउलाबिरुद्धको भ्याक्सिन निर्माण गर्न ३४ बर्ष लागेको थियो । सन् १९५४ मा भ्याक्सिन निर्माणको काम सुरु भएको थियो । भ्याक्सिन निर्माणको काम सन् १९८८ मा सकिएको थियो ।

ह्युमन पेपिलोमा भाइरस एचपीभीबिरुद्धको खोप निर्माण गर्न १५ बर्ष लागेको थियो । सन् १९९१ मा यो खोप निर्माणको काम सुरुवात गरिएको थियो भने सन् २००६ मा सम्पन्न भएको थियो । यो असुरक्षित यौन सम्पर्कबाट सर्ने एकप्रकारको भाइरस हो ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com