सामुदायिक विद्यालयमा पुस्तक अभाव


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

धनुषासहित आसपासका जिल्लामा नयाँ शैक्षिकसत्र सुरु भइसके पनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् ।

शैक्षिकसत्र सुरु भएको १४ दिन बित्न लागे पनि अहिलेसम्म सबै पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका हुन् ।

धनुषाको साविक घोडघास गाविसस्थित गङ्गुली–६ मा पर्ने राष्ट्रिय निम्न माध्यमिक विद्यालयका विद्यार्थी पुस्तक अभावका कारण दिनहुँ विद्यालयमा खेलेर बिताउने गर्छन् ।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका सम्पूर्ण पुस्तक उपलब्ध नहुँदा धेरै विद्यार्थी त विद्यालय नै आउन छोडेको प्राध्यापक धनीराम ठाकुरले बताउनुभयो ।

कक्षा ६ का पाँचवटा, कक्षा ९ का चारवटा, कक्षा १० का चारवटा लगायत ४० प्रतिशतभन्दा बढी विषयगत पुस्तकको हाल धनुषामा अभाव रहेको नेपाल पुस्तक व्यवसायी सङ्घ, धनुषाका अध्यक्ष गौतम ढुङ्गेलले बताउनुभयो ।

अध्यक्ष ढुङ्गेलका अनुसार जसरी पुस्तक आउने गरेको छ, सोही आधारमा नै विद्यार्थीलाई उपलब्ध गराउने गरिएको छ । पुस्तकको विषय जटिल भएका कारण यो विषयलाई धनुषाका प्रजिअमार्फत समाधान खोज्न आफूहरुले पहल गरिरहेको उहाँको भनाइ थियो ।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएका बेलामा प्रत्येक वर्ष यस्तो समस्याले शैक्षिकस्तर झनै कमजोर हुने खतरा रहेको जनकपुर उपमहानगरपालिका–१४ घर भएका अभिभावक देवकुमार महतो बताउनुहुन्छ । उहाँले भन्नुभयो – “खै कसरी पढाउने सामुदायिक विद्यालयमा प्रत्येक वर्ष पुस्तक अभाव देखाएर बच्चाले तीन–तीन महिना पढ्नै पाउँदैनन् । विगत केही वर्षदेखि सबै शैक्षिकसत्रमा पुस्तक अभाव हुन्छ खै कहिले समाधान गर्ने सरकारले रु”

जनक शिक्षा सामग्री केन्द्रका कर्मचारी र शिक्षकमा कमिसनको लालचसमेत बढेको पीडा विद्यार्थीले भोग्नु परिरहेको पुस्तक व्यवसायीको आरोप छ । स्थानीय तह निर्वाचनको मतपत्र छाप्नमा कर्मचारी व्यस्त भएका कारण केहीदिनभित्रै समस्या समाधान हुने जनक शिक्षा सामग्री क्षेत्रीय कार्यालय, जनकपुरले जनाएको छ ।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com