अमेरिकी पासपोर्टका लागि आवेदन दिने यो नै उचित समय : अमेरिकी विदेश मन्त्रालय


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले अमेरिकी पासपोर्टका लागि नयाँ आवेदन वा नविकरणको आवेदन दिने यो नै उचित समय भएको बताएका छन् । कोरोनाको महामारीपछि पासपोर्ट आवेदन प्रकृयामा लैजाने विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर्सले ब्याकलगको सामना गरेपनि अहिले कैयन पासपोर्ट एजेन्सी र केन्द्रहरु दोश्रो चरणमा खुलिसकेका छन् ।

अहिले पासपोर्ट जारी गर्नका लागि झण्डै १० हप्तासम्मको अवधि लाग्ने गरेको छ । कोरोना महामारीभन्दा अगाडि नियमित पासपोर्ट जारी गर्न ६ देखि ८ हप्तासम्म लाग्ने गरेको थियो । महामारी अगाडि अतिरिक्त शुल्क तिरेर दुईदेखि तीनसातामा पासपोर्ट लिन सकिने प्रावधान रहेपनि महामारीपछि उक्त प्रावधान स्थगित गरिएको छ ।

अहिले झण्डै १८ लाख पासपोर्टका आवेदनहरु प्रकृयामा रहेको जनाइएको छ । महामारीभन्दा अगाडि औषतमा हरेक महिना १५ लाख पासपोर्टहरु जारी गरिदै आएको थियो । आगामी नोभेम्बर डिसेम्बरतिर यात्रा गर्ने योजना बनाउनेहरुले अहिले नै पासपोर्ट आवेदन दिएर १० बर्षका लागि पासपोर्ट लिनु उपयुक्त हुने विदेशमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

महामारीमा विदेशमन्त्रालयका कैयन कर्मचारीहरुले घरबाटै काम गरेपनि सुरक्षाका कारण पासपोर्टको प्रकृया घरबाट लैजान नमिल्ने भएकाले पासपोर्टहरु जारी हुनमा ढिलाई भएको हो । अहिलेसम्म कुनै पनि पासपोर्ट सेन्टरहरु तेश्रो चरणमा पूर्णरुपमा खुलिसकेका छैनन् ।

अमेरिकी विदेशमन्त्रालयका २५ पासपोर्ट सेन्टरहरुमध्ये १० वटा दोश्रो चरणमा खुलेका छन् । पहिलो चरण र दोश्रो चरणमा खुलेका सेन्टरहरुले जीवन र मृत्युको सवाल भएको सन्दर्भमा ७२ घण्टाभित्र पासपोर्ट जारी गर्ने आवेदनहरु अहिले पनि स्वीकार गरिरहेका छन् । तर दोश्रो चरणमा खुलेका सेन्टरहरु आवेदनहरुमा काम गर्न धेरै कर्मचारीहरु रहेका छन् ।

तेश्रो चरणमा सेन्टरहरु खुलेपछि सिमित मात्रामा दुईसातामा यात्रा गर्नुपर्ने सामान्य अवस्थाका आवेदकलाई पनि अप्वाइन्टमेन्ट दिइने जनाइएको छ । सबै पासपोर्ट सेन्टरहरु खुलेपछि अतिरिक्त शुल्क तिरेर दुईदेखि तीनसातामा पासपोर्ट प्राप्त गर्ने सुविधा पनि सुचारु हुने जनाइएको छ ।

अहिलेको अवस्थामा आवेदकले पासपोर्ट नविकरणको आवेदन वा नयाँ पासपोर्टको आवेदन पुरानै प्रकृयाबाट हुलाकबाट पठाउन सक्नेछन् । पहिले प्राप्त भएको आवेदनलाई पहिले प्रकृयामा लगिने विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेशमन्त्रालयले अमेरिकनलाई यात्रा गर्नका लागि विश्वब्यापी रुपमा जारी गरेको एड्भाइजरी हटाएको छ । तर अझै पनि अधिकांश देशहरुले अमेरिकनलाई आफ्नो देशमा आउनमा रोक लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com