कोरोनाबिरुद्ध अग्रमोर्चामा राष्ट्रिय आबिष्कार केन्द्र, करोडौंका भेन्टिलेटर निशुल्क मर्मत
प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार
– अस्मीता खड्का
महावीर पुन अध्यक्ष रहेको र उनैको परिकल्पनामा स्थापित राष्ट्रिय आबिष्कार केन्द्र अहिले नयाँ भेन्टीलेटर निर्माण र विग्रीएका भेन्टीलेटरको मर्मतमा दिनरात खटिरहेको छ ।
पछिल्लो चरणमा केन्द्रले बिहिबार मात्र गंगालाल हस्पिटलमा विग्रीएर धन्काईएका भेन्टीलेटर मर्मत गरेर पुनःसञ्चालनमा आउने बनाई दिएको छ । पुनका अनुशार शहिद गंगालाल मुटु रोग अस्पतालका ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वंयम सेवकहरुले मर्मत गरि राम्रोसंग चल्ने बनाएका हुन् ।
७ वटा भेन्टिलेटर मर्मत गर्दा श्रमबाहेक अरु खर्च भएन
यी भेन्टिलेटरहरु मर्मत गरेर चलाउँदा नयाँ भेन्टिलेटर किन्ने झन्डै १ करोड रुपैंया जति बचेको उनको भनाई छ । उनी भन्छन् – ‘सकिन्छ भने नयाँ भेन्टिलेटरहरु र अन्य मेडिकलका सामानहरु पनि किन्नु होस् तर पुरानालाई पनि सकेसम्म मर्मत गर्नुहोस् ।’
‘ती भेन्टिलेटरहरु बनाउनको लागि चाहिने साधारण पार्टपूर्जाहरु पनि त्यहि अस्पतालमा नै रहेछन । यसरी ७ वटा भेन्टिलेटर बनाउनको लागि एक पैसा पनि खर्च भएन । ६ जना भाईको ४ दिनको मिहनत मात्र खर्च भयो,’ महावीर पुनले जानकारी दिए ।

एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैंयासम्मको पार्टपुर्जाहरु फेर्यो भने काम गर्ने उनको अनुभव छ । उनी भन्छन् – ‘अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटरहरु बन्छन भने किन नबनाउने ? यसको लागि मदत चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रले सकेसम्म मदत गर्छ ।’
यो कामको सबैतिरबाट प्रशंसा भैरहेको छ । विरामीको संख्या बढ्दै आएको बेला यस्तो कामले धेरैको ज्यान बच्नसक्छ । यसै पनि चिकित्सकहरुले विरामीको बढ्दो संख्या हेरेर राज्यले तयारी गर्नुपर्ने कुरा बारम्बार दोहोराउँदै आएका छन् । तर राज्यले अहिलेको अवस्थामा विरामीको संख्या अनुसार भेन्टीलेर खरिद गर्न नसक्ने कुरा बताउँदै आएको छ ।
पीपीई लगायतका स्वास्थ्य सामाग्री वितरण
संक्रमण रोक्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुका लागि आविष्कार केन्द्रले पीपीर्ई, स्वाब संकलन बुथ र मास्कलगायतका सामान निःशुल्क वितरण गरिरहेको छ । अस्पतालमा कार्यरत चिकित्सक मात्र नभई सरसफाइ कर्मचारीदेखि लिएर सुरक्षा गार्ड र पछिल्लो समय प्रहरीहरूलाई समेत पिपिईजस्ता सुरक्षाका सामान वितरण गरिरहेको छ ।

आविष्कार केन्द्रले मास्क, फेसियल मास्क, न्युमास्क, स्वाब संकलन गर्ने बुथ, डिसइन्फेक्ट गर्ने बक्स, एरोसोल बक्स, बिरामी हेरचाह गर्ने रोबोर्ट उत्पादन र वितरण गरिसकेको छ ।
३ लाख मूल्यमा नयाँ भेन्टिलेटर बनाइदै
भेन्टिलेटर निर्माणमा बायोमेडिकल,मेकानिकल,इलेक्ट्रोनिकल र सफ्टवेयर इन्जिनियरसहित प्राविधिक टिम लागिपरिरहेको छ । यो केन्द्रले बनाएको भेन्टीलेटरको मुल्य ३ लाख बराबरको हुनेछ ।
राष्ट्रिय आविष्कार केन्द्रमा अहिले कोरोना विरुद्ध लड्ने १२ किसिमका सामानहरु निर्माण भैरहेको र अन्य पनि बनाउने प्रयासमै रहेको अध्यक्ष पुनले बताएका छन् ।
बिरामीको खाना र औषधी लैजाने रोबोट
केही समय अगाडि सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि लैजाने रोबोट निर्माण गरेको थियो ।
केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्ने रोबोटको निर्माण गरेको संस्थापक अध्यक्ष महावीर पुनले बताए । मास्क, पीपीई र श्वास लिने अटोमेटिक भेन्टिलेटरसँग केन्द्रले यस्तो रोवोट निर्माण गरेको छ । मास्क बनाउनको लागि चाहिने फिल्टर मशीन भने अमेरिकाबाट ल्याइएको थियो ।

अहिलेसम्म ४० बढी भेन्टिलेटर मर्मत
गम्भिर प्रकारका विरामीको लागि आइसियू र भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने भएको हुँदा, विरामीको संख्या अनुसार हस्पिटलमा भेन्टीलेर नहुँदा विरामीले हस्पिटलको गेटमै प्राण त्याग्नु परेको पनि छ ।
विभिन्न हस्पिटलमा विग्रीएर थन्काईका ४० भन्दा बढी भेन्टीलेटर केन्द्रले मर्मत गरी चल्ने बनाई दिएको छ । त्यो पनि निशुल्क !
आविस्कार केन्द्रले अहिलेसम्म एक करोड रुपैयाँ बराबरको पिपिई निर्माण गरी वितरण गरिसकेको छ । यो सबै जनताले गरेको सहयोगबाट निर्माण गरिएको केन्द्रका अध्यक्ष पुन बताउँछन् ।
साथै करिब १० करोड रुपैयाँ खर्च गर्ने हो भने सबै स्वास्थ्य कर्मीको लागि पीपीई पुग्ने उनको भनाई छ ।
नीजि क्षेत्रको भूमिका
कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमै आवश्यक स्वास्थ्य सामग्री बनाएर अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्दै आएका वैज्ञानिक महावीर पुन संक्रमण नियन्त्रणका लागि निजी क्षेत्रको पनि मुख्य भूमिका हुने बताउँछन् । तर नेपालमा निजी क्षेत्र मन खोलेर संक्रमण नियन्त्रणमा लागेको छैन । बरु उल्टै बिभिन्न मागहरु अगाडि सारेको छ ।
घरघरमै बिरामी देखिँदासम्म भौतिक दूरीको नियम पालना नगर्ने, मास्क नलगाउने, समयसमयमा हात सफा नगर्ने, अनावश्यक भिडभाड गर्नेजस्ता प्रवृत्तिले गर्दा जोखिम निम्त्याइरहेको भन्दै पुनले सबैलाई सचेत रहन र आफ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।
घरबाट बाटोमा निस्किदा कतिपयलाई कोरोना निर्मुल भैसकेको जस्तो लाग्न सक्छ । यसलाई गम्भिरतापूर्वक लिएको पाईदैन । उल्टो सरकार र स्वास्थ्यकर्मीहरुलाई सरापेको पाईन्छ ।
केही समय अगाडि काठमार्डाैँमा त स्वास्थ्यकर्मी बस्ने घर घेर्न पुरै टोल उठेर गएको समाचार सार्वजनिक भएको थियो । यसले पनि देखाउँछ, मानिस शिक्षित भएर मात्र हुँदैन चेतनशील हुन आवश्यक छ ।

स्वास्थ्य सामाग्रीको अभाव
नेपालमा कोरोना संक्रमणबारे पछिल्ला तथ्यांकहरुलाई केलाएर हेर्ने हो भने कोरोना समूदायस्तरमा फैलिसकेको छ । लकडाउन कायमनै छ, तर संक्रमित हुनेको संख्यामा कमी आएको पाईदैन ।
संक्रमितहरुको संख्या दिनप्रति दिन बढ्दै जानु र उचित स्वास्थ्य सामग्रीको अभाव हुँदै गर्दा जोखिम झनै बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
नियन्त्रका लागि चिकित्सकहरुले बिभिन्न माध्यमबाट जनसमूदायमा चेतना फैलाउनुकासाथै संक्रमण न्यूनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु गुहार लगाईरहेका छन् ।
आईसीयु र भेन्टिलेटर बेडको अभाव
अहिलेसम्म नेपालमा १ हजार १२ बेडहरु उपलब्ध रहेको तथ्यांकमा उल्लेख छ । तर डिसेम्बर २९ सम्म थप ३८ हजार बेड आवश्यक पर्ने अनुमान गरिएको छ ।
त्यस्तै अहिले ११५ मात्र आईसीयु बेडहरु उपलब्ध रहेकोमा डिसेम्बरको अन्त्यसम्ममा साढे ७ हजार आईसीयु बेड आवश्यक पर्ने वासिंटन विश्वविद्यालयको स्वास्थ्य मापन तथा मूल्यांकन प्रतिष्ठानले प्रक्षेपण गरेको छ ।
त्यस्तै डिसेम्बरको अन्त्यसम्ममा ६ हजार बढी भेन्टिलेटरको आवश्यकता पर्ने अनुमान गरिएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले मुलुकभर १० हजार भेन्टिलेटर र आइसीयू बेड तयार पार्न सरकारलाई निर्देशन दिएको थियो । त्यो अनुसार अहिलेसम्म काम हुन सकेको छैन ।





