२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
अन्तर्राष्ट्रिय

कोरोनाबिरुद्धको भ्याक्सिन २०२१ को मध्य अगाडि आउने आशा छैन : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले कोरोनाबिरुद्धको भ्याक्सिन सन् २०२१ को मध्यभन्दा अगाडि नआउने अपेक्षा गरेको छ । शुक्रबार संगठनका प्रवक्ताले भ्याक्सिनको प्रभावकारिता र सुरक्षा जाँच गर्न आवश्यक भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसका अनुशार कुनै पनि भ्याक्सिनले पूर्व क्लीनिकल परीक्षणका क्रममा विश्व स्वास्थ्य संगठन कम्तीमा ५० प्रतिशत स्पष्ट प्रभावकारिता समेत देखाउन सकेको छैनन् । रसियाले गत अगस्तमा नै मानवमा परीक्षण गरेको दुईमहिनाभन्दा कम अवधिमा नै भ्याक्सिनलाई स्वीकृति प्रदान गरेको थियो ।

अमेरिकाका जनस्वास्थ्य अधिकारीहरु र भ्याक्सिन कम्पनी फाइजरले बिहिबार अक्टोबरको अन्त्यसम्ममा भ्याक्सिन वितरणका लागि तयार हुनसक्ने बताएका छन् । ट्रम्प प्रशासनले नोभेम्बर १ सम्म भ्याक्सिन वितरण केन्द्रहरुको सबै तयारी पूरा गर्न राज्यहरुलाई निर्देशन दिएको छ ।

तर शुक्रबार जेनेभामा बोल्दै मार्गारेट ह्यारिसले भनिन् – ‘अर्को बर्षको मध्यअगाडि हामीले बृहतमात्रामा भ्याक्सिन तयार हुने कुनै अपेक्षा गरेका छैनौं । तेश्रो चरणको परीक्षणबाट भ्याक्सिन सुरक्षित र प्रभावकारी भए नभएको जाँच्नुपर्ने भएकाले लामो समय लाग्नेछ ।’

सबै परीक्षणबाट उपलब्ध तथ्यांकहरु सार्वजनिक गर्नुपर्ने र तुलना गर्नुपर्ने उनले बताएकी छिन् । विश्व स्वास्थ्य संगठन र गाभी भ्याक्सिन एलायन्सले विश्वव्यापी भ्याक्सिन वितरण योजना कोभ्याक्सको नेतृत्व गरेका छन् । यसको उद्देश्य सबैभन्दा धेरै जोखिममा रहेका हरेक देशका व्यक्तिलाई पहिलो भ्याक्सिन उपलब्ध गराउनु हो ।

कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा भ्याक्सिनका २ बिलियन डोजहरु आपूर्ति गर्ने लक्ष्य लिएको छ । तर केही देशहरुले आफ्ना देशका लागि दुईपक्षीय सम्झौतामार्फत भ्याक्सिनका डोजहरु सुरक्षित गरिसकेका छन् । अमेरिकाले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममा सहभागि नहुने बताइसकेको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →