सशंकित बनेको मोर्चालाई प्रधानमन्त्रीले बोलाएर के भने ?


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरुबीच संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको छ ।
श्रोतका अनुसार बिहानको वार्तामा प्रधानमन्त्री दाहालले स्थानीय तहको संख्या थप्ने निर्णय सम्पूर्ण रुपमा फिर्ता नगरेको र यसमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल गरेर निष्कर्ष निकाल्ने आश्वासन दिईएको जनाईएको छ ।
तराईमा स्थानीय तहको संख्या थप गर्ने निर्णयबाट सरकार पछि हट्न लागेको भन्दै सशंकित बनेको मोर्चाका नेताहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका हुन् ।
निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भइसकेको अवस्थामा सरकारले स्थानीय तह थप्ने निर्णय गरेको भन्दै एमालेले मंगलबार र बुधबार लगातार संसद बैठक अवरुद्ध पारेको थियो ।
त्यस्तै, बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र मोर्चाका राजेन्द्र महतो शरतसिंह भण्डारी, अनिला झा लगायतका नेताहरु सहभागी थिए ।
बुधबार अबेर एमाले र सरकार पक्षको बैठकमा तत्काल तराईका ११ जिल्लामा थप्ने भनिएको स्थानीय तहको संख्याको विषय फिर्ता लिने सहमति बनेपछि संसद् चालु भएको थियो । तर, एमालेसँगको सहमतिमा सरकारले आफूहरुसँग भएको सहमति भाँडेको भन्दै मधेसी मोर्चा असन्तुष्ट बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com