काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो
प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थपिएको छ । आज बसेको काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको हो ।
तर, यो पटक थपिएको निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएको छ । निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने र भन्सार तिरेका गाडी र मोटरसाईकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट दिने निर्णय गरेको छ ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै उपत्यकामा गत भदौ ३ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा ७ दिनका लागि जारी गरिएको निषेधाज्ञा १० गते सकिएको थियो । त्यसपछि पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ





