‘रुघाखोकी जस्तै ठानेको थिएँ तर होइन रहेछ’ : ५ दिन बाल्टिमोरको अस्पताल भर्ना भएका कार्की


प्रकाशित मिति : भाद्र १३, २०७७ शनिबार

– किशोर पन्थी

‘कोरोना भाइरस कमजोर र सामान्य भाइरस भनेर गरिएको प्रचार मैले पनि सुनेको थिएँ । मैले पनि आफूलाई संक्रमण नहुँदासम्म त्यो कुरा विश्वास गरेको थिएँ । तर जब मलाई कोरोना संक्रमण भयो, तब मलाई थाहा भयो यो भाइरस सामान्य रहेनछ ।’ –  कोरोना संक्रमणपछि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको मेडस्टार फ्रंयाक्लिन स्क्वायर मेडिकल सेन्टरमा ५ दिन भर्ना भएका ५१ बर्षीय काजी कार्कीले आफ्नो अनुभव सुनाए ।

अगस्तको पहिलो साता उनलाई हनहनी ज्वरो आयो । औषधी खाँदा पनि ज्वरो रोकिएन । लगातार सुख्खा खोकी लाग्यो भने पखाला र बान्ता समेत भयो । त्यसपछि उनी अस्पतालमा भर्ना भए । अस्पतालमा भर्ना भएपछि उनको कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखियो । ज्वरो र रक्तचाप पनि ह्वात्तै बढ्यो ।

‘मलाई त बाँच्छु जस्तो नै लागेको थिएन ।’ कार्कीले आफ्नो अनुभव सुनाए ।

बिरामी भएकै अवस्थामा उनले इन्टरनेटमा कोरोना संक्रमणबाट हुने मृत्युदर चेक गरे । मृत्युदर दुईदेखि ४ प्रतिशतसम्म रहेको फेला पारे । उनलाई आफूपनि कतै त्यही तथ्यांकमा परिने हो कि भनेर डर समेत लाग्यो । उनी भन्छन् –‘कतै भेन्टिलेटरमा जाने अवस्था आउने हो कि भनेर निकै डर लाग्यो । किनभने भेन्टिलेटरमा गइसकेपछि फर्किने दर निकै कम रहेछ ।’

तर उनी समयमै अस्पताल गएका कारण र स्वासप्रश्वासमा कुनै समस्या नभएका कारण अक्सिजन दिनुपर्ने अवस्था पनि आएन । उनलाई डाक्टरहरुले बारम्बार सान्त्वना पनि दिइरहे । तर पनि उनका मनमा अनेक कुरा खेलिरहे । अस्पतालकै बेडमा पल्टिरहेको बेला एकदिन उनले स्वास्थ्यकर्मीहरुसँग कापी र कलम मागे ।

काजी कार्कीको परिवार ।

आफूलाई केही भइहालेमा परिवारका सदस्यहरुलाई आफ्नो विजनेशको हिसाबकिताबबारे जानकारी दिनका लागि उनले कापी कलम मागेका थिए । कार्की भन्छन् –‘लेनदेनको हिसाब लेख्नका लागि कापी कलम मागेको थिएँ । तर हात कापेर केही लेख्न सकिन ।’

झण्डै ५ दिन अस्पतालमा भर्ना भएर उपचार गरेपनि उनलाई निकै हुँदै गयो । त्यसपछि उनी घर फर्के । परिवारमा सबैजनालाई कोरोना संक्रमण भएको थियो । तर अरुको अवस्था भने सामान्य नै भएकाले अस्पताल भर्ना गर्नुपरेन । घरमै औषधी खाएर सबैजना निको भए । झण्डै तीनसातापछिको उपचारपछि सबैमा कोरोना नेगेटिभ देखियो ।

अगस्तको पहिलोसाता कार्कीसहित झण्डै २ दर्जन नेपालीहरुमा बाल्टिमोरमा कोरोना संक्रमण भएको थियो । तर तीनजना बाहेक अरुभने अस्पताल भर्ना हुनु परेन । अस्पतालमा भर्ना भएकाहरु सबैको अवस्था सामान्य भइसकेको छ ।

‘मलाई अहिलेसम्म यसरी कुनैपनि रोगले ढालेको थिएन । झण्डै १०४ डिग्रीसम्मको ज्वरो आयो । अहिलेसम्म जीवनमै यति धेरै ज्वरो आएको थिएन । अब यस्तो भाइरसलाई सामान्य रुघाखोकीजस्तो कसरी भन्नु ? ‘- कार्कीले आफ्ना अनुभव सुनाए ।

उनले भने – ‘आफूलाई संक्रमण नहुँदासम्म चाँही सामान्य नै लाग्ने रहेछ । तर संक्रमण भइसकेपछि यो भाइरस निकै ज्याद्रो रहेको अनुभव भयो । कोरोना नेगेटिभ देखिइसकेको छ । झण्डै एकमहिनाभइसक्दा पनि अझै पूर्णरुपमा निको अनुभव भएको छैन ।’

‘आफूलाई नलाग्दासम्म अरु व्यक्ति कोरोनाबाट डराउँदासमेत कस्तो डरछेरुवा रहेछ जस्तो लाग्थ्यो । तर आफूलाई लागेपछि थाहा भयो, यो डराउनैपर्ने रोग रहेछ,’ कार्कीले भने – ‘मेरो त खोक्दा खोक्दा स्वर नै सुकेको थियो । बोल्नै नसक्ने अवस्था आएको थियो । अहिले बल्ल बोल्न र साथीहरुसँग कुरा गर्न सक्ने भएको छु ।’

कसैलाई कोरोना संक्रमण भएको खाण्डमा त्यसबारे आफ्नो संसर्गमा आएका नजिकका सबै व्यक्तिलाई जानकारी दिन उनले अनुरोध समेत गरेका छन् । यसो भएमा संसर्गमा आएका सबैले चेक गराउन सक्ने र सावधानी अपनाउने भएकाले अरु फैलिनबाट रोक्न सकिने उनको भनाईछ । उनी भन्छन् -‘कृपया नलुकाउनुहोला । संसर्गमा आएकाहरुलाई जानकारी दिनुभएमा उनीहरुले सावधानी अपाउनेछन् । फैलावट हुनबाट रोक्न सहज हुनेछ ।’

अहिले कोरोनाबिरुद्धको भ्याक्सिन समेत नबनिसकेकाले कोरोना संक्रमणको दर कम भयो भन्दैमा जमघट र भोजभतेरका लागि हतार नगर्न उनले सन्देश दिएका छन् । उनले भने -‘अहिले नै जमघट र भोजभतेरका लागि हतार नगरौं । यतिधेरै महिना सावधानी अपनाइसकिएको छ भने अब दुईचार महिना अझै धैर्य गरौं ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com