टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा जान श्रृजना गरिएको अवरोधबिरुद्ध संघीय अदालतमा मुद्दा


प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार

अमेरिकामा टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा जान श्रृजना गरिएको अवरोधबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको छ । अमेरिकामा झण्डै ९ हजार नेपालीहरु टीपीएसवाहक रहेका छन् ।

आप्रवासी अधिकारका लागि काम गर्ने समुहहरुले टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा जानबाट रोक्नेगरी ट्रम्प प्रशासनले ल्याएको नीतिबिरुद्ध मुद्दा दायर गरेका हुन् । उक्त मुद्दामा ७ जना टीपीएसवाहक आप्रवासीहरुले प्रतिनिधित्व गरेका छन् ।

गतबर्ष ट्रम्प प्रशासनले एउटा पोलिसी अलर्ट जारी गर्दै टीपीएसवाहकलाई ग्रिनकार्डमा जानबाट समस्या हुनेगरी नीति ल्याएको थियो । जसमा अमेरिकामा गैरकानुनी उपस्थीति भइसकेका वा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका टीपीएसवाहकहरु अमेरिकाबाहिर गएर आएपनि नयाँ प्रवेश कायम नहुने उल्लेख गरिएको थियो ।

यो भन्दा अगाडि अमेरिकामा अमेरिकामा गैरकानुनी उपस्थीति भइसकेका वा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका टीपीएसबाहकहरु एड्भान्स परोलमा अमेरिकाबाहिर गएर आएपछि अमेरिकामा स्टाटस एड्जस्ट गर्न वा ग्रिनकार्डको बाटोमा जान पाउने अधिकार रहेको थियो । तर गतबर्षको पोलिसी अलर्टले यो अधिकारलाई खारेज गरेको छ ।

यद्यपी आफ्नो तजविज अधिकार प्रयोग गरेर युएससीआईएसका अधिकारीहरुले त्यस्ता व्यक्तिको स्टाटस एडजस्ट भने गर्दै आएका छन् । अन्य विभिन्न परिस्थीतिको मूल्यांकन गरेर आफ्नो तजविज अधिकार प्रयोग गर्न युएससीआईएसका अधिकारीहरुलाई छुट दिइएको छ ।

मुद्दा दायर गर्नेहरुमा ६ जना एलसाल्भाडोर र एकजना हैटीका टीपीएसवाहकहरु रहेका छन् । उनीहरुमध्ये एल साल्भाडोरकी ब्लान्का रोमेरो २६ बर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनी सन् २०१३ मा एड्भान्स परोलमा एलसाल्भाडोर गएकी थिइन् । तर उनलाई अमेरिका फर्केपछि स्टाटस एड्जस्ट गर्न खोज्दा युएससीआईएसले अस्वीकार गरेको थियो ।

उनका चारजना अमेरिकी नागरिक छोराछोरीहरु रहेका छन् । उनीहरुमध्ये सबैभन्दा जेठोको तर्फबाट उनका लागि ग्रिनकार्ड आवेदन फाइल गरिएको थियो ।

नेपाली लगायतको टीपीएसका कागजातको अवधि आगामी जनवरी ४ मा समाप्त हुँदैछ । त्यसपछि अवधि थपिने नथपिने निश्चित नभएका कारण उनीहरु अन्यौलमा रहेका छन् ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com